काठमाडौं । रिक्त उपसभामुखका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामाबिच प्रतिष्पर्धा हुने भएको छ ।
गत निर्वाचनमा रुवी श्रम संस्कृति पार्टी र सरस्वती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भएका थिए ।
संघीय संसद सचिवालयले उपसभामुखको निर्वाचनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको थियो । सो अवधिमा रुवी र सरस्वतीको उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ ।
त्यसो त रुवीलाई सत्तारुढ दल रास्वपाको समर्थन रहेको छ । उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी र श्रम संस्कृतिकै सांसद अम्बिकादेवी निरौला रहेका छन् भने प्रस्तावकमा श्रम संस्कृतिकै आर्यन राई प्रस्तावक रहेका छन् ।
यता राप्रपाबाट उम्मेदवारी दिएकी लामाको समर्थक राप्रपाकै संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) र प्रस्तावकमा राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरी रहेका छन् ।
राप्रपा, रास्वपा र श्रम संस्कृति पार्टी बाहेकका अन्य दलहरुले त्यस विषयमा कुनै मुख खोलेका छैनन् ।
उपसभामुखको चयनका लागि शुक्रबार निर्वाचनको मिति तोकिएको छ । यसअघि नै रास्वपाका उपसभापति समेत रहेका डीपी अर्याल सभामुखमा निर्वाचित भइसकेका छन् ।
फागुन २१ को निर्वाचनपछि रास्वपा झण्डै दुई तिहाइसहित सरकार गठन गरेको छ । यदी रास्वपाले श्रम संस्कृतिलाई नै मतदान गरेको अवस्थामा रुवी नै उपसभामुख बन्नेछिन् । रुवी अहिलेको प्रतिनिधि सभामा सबैभन्दा कान्छी सांसद हुन् ।
त्यसो त सुरुमा रास्वपा राप्रपालाई समर्थन गर्ने जनाएको थियो । तर अन्तिम अवस्थामा रास्वपाले एकाएक समर्थन फिर्ता लिएर श्रम संस्कृति पार्टीलाई सघाउने बताएको हो ।
रास्वपाका ज्ञानबहादुर शाहीले आफूलाई रास्वपा सभापति रवि लामिछानेले फोन नै गरेर समर्थन गर्ने जनाएपछि आफूहरुले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया