काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिबद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताएका छन् ।
निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।
उनले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिए ।
सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गरे ।
वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उनले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताए ।
आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उनको भनाइ छ ।
निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभूति रहेको बताउँदै उनले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताए ।
उनले भने, ‘अहिले सरकारले नीति तथा कार्यक्रमको ड्राफ्टिङ गर्दैछ । इतिहासमै पहिलो पटक जनताले देश बनाउनका लागि स्पष्ट जनमत दिएका छन् । यो अवसरलाई सदुपयोग गर्दै सरकारले देश निर्माणमा लाग्नुपर्छ । हामीलाई आश्वासन होइन, वातावरण चाहिएको हो । तत्कालै गर्न सकिने सुधारहरू र दीर्घकालीन रूपमा राज्यको प्रतिबद्धता नै आजको आवश्यकता हो । तपाईँहरूका पीडा र चुनौतीहरू हाम्रो पनि साझा बुझाइ हो । उद्योग धन्दा किन फस्टाउन सकेका छैनन् भन्ने कुरामा हामी गम्भीर छौँ ।’
सांसद दुलालले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कानुन निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उनले बताए । देश निर्माणका लागि निजी क्षेत्रको प्रोत्साहनसँगै सार्वजनिक क्षेत्रको सुदृढीकरण र समग्र क्षेत्रको सबलीकरणबाट मात्रै अगाडि बढ्न सकिने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया