पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा 

लोकपथ
301
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छुटेका छन् । १२ दिनअघि पक्राउ परेका उनलाई आज केहीबेर अघि परिवारको जिम्मा लगाइएको छ ।

पक्राउपछि उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

ओली पक्राउ परेकै दिन पक्राउ परेका पूर्वगृहमन्त्री  रमेश लेखक भने छुटिसकेका छैनन् । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो । पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो । 

आदेशमा भनिएको थियो, ‘जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पुरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी गरिएको छ ।’

आदेशमा अभियुक्तहरूको बयान कार्य सम्पन्न भइसकेको र अनुसन्धानका काम पूरा भएकाले थुनामा राख्न नपर्ने कारण देखिएको उल्लेख थियो । 

ओली र लेखकमाथिको कसुरअनुसार प्रत्यक्षदर्शीको बयान पनि छैन । यो अवस्थामा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ आकर्षित हुन्छ । दफा १५ मा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने व्यवस्था  छ । 

सो दफाको उपदफा (१) मा भनिएको छ, ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।’

उपदफा (२)मा मुद्दा चलाउने अवस्थामा उपस्थित हुनेगरी कागज गराएर छाड्न सकिने व्यवस्था गरिएको छ । 

ओली र लेखकलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान झिसमिसेमै उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो । 

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरूमाथि छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरूलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?