काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र भिजनमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले नीति भन्दा पहिले राज्यको बुझाइ र दृष्टिकोण प्रधान हुने बताएका हुन् ।
उनले राज्यको व्यवहार कहिले निजी क्षेत्रलाई अँगालो हाल्ने र कहिले दुश्मन जस्तो देख्ने खालको भएको भन्दै त्यसको आलोचना गरे ।
व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ को रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको तर्क थियो ।
सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनु भन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताए ।
व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखी भन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उनले आग्रह गरे । विशेष गरी कृषि र पर्यटनमा ठुला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘निजी क्षेत्र राज्यको मेरुदण्ड हो । मेरुदण्ड कमजोर भएपछि मान्छे कसरी सस्टेन हुन्छ ? त्यसैले राज्यले निजी क्षेत्र आवश्यक छ भन्ने कुरामा पहिले स्पष्ट हुनुपर्छ । कर सबैले तिर्छन्, तर त्यसलाई व्यवस्थित गर्ने र राज्यसँग जोड्ने कुरा महत्वपूर्ण हो । रोटी पाक्नका लागि ताप्के नै तात्नु पर्यो, बिँड तातेर हुन्न । व्यवसाय केवल नाफा–घाटाको विषय मात्र होइन, यो सेवा र सामाजिक उत्तरदायित्वको क्षेत्र पनि हो । निजी क्षेत्रले नैतिकता र मूल्य–मान्यतालाई आत्मसाथ गरेमा हामीलाई उहाँहरूको पक्षमा वकालत गर्न सजिलो हुन्छ ।’
आफ्नो गृह जिल्ला बझाङको उदाहरण दिँदै उनले त्यहाँ ओखर र टिम्मुर खेतीको प्रचुर सम्भावना रहेको बताए ।
खप्तड र मानसरोवर जाने ताक्लाकोट नाकाको विकास गरी पर्यटनबाट ठुलो लाभ लिन सकिने योजना पनि सुनाए । उनले निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो आधार बनाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया