के ओली र लेखक आज छुट्लान् ? 

लोकपथ
140
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पछिल्लो पटक थप गरिएको पाँच दिनको म्याद हिजो बुधबार नै सकिएको छ । सर्वोच्च अदालतको परमादेशका कारण ओली–लेखकमाथि आज कि मुद्दा अभियोजन गर्नुपर्छ कि हिरासतमुक्त गर्नुपर्छ । 

स्रोतका अनुसार, ‘सरकारकै उच्च तहबाट हिरासतमा राख्नुपर्छ’ भन्ने आदेश आएको अवस्थामा बाहेक उनीहरूलाई आज हाजिरी जमानीमा रिहा गरिनेछ । 

स्रोतका अनुसार, उनीहरू दुवैलाई हाजिरी जमानीमा छाड्ने सम्भावना बढी छ । 

स्रोत भन्छ, ‘सर्वोच्च अदालतले दिएको आदेशपछि म्याद थपको कुनै तयारी भएको छैन तर उनीहरूमाथिको अनुसन्धान पनि सकिएको छैन ।’

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो । पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो । 

आदेशमा भनिएको थियो, ‘जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पुरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी गरिएको छ ।’

आदेशमा अभियुक्तहरूको बयान कार्य सम्पन्न भइसकेको र अनुसन्धानका काम पूरा भएकाले थुनामा राख्न नपर्ने कारण देखिएको उल्लेख थियो । 

सर्वोच्च अदालतले आदेशमा अनुसन्धान सकिसकेको उल्लेख गरेको भएपनि ओली र लेखकमाथिको अनुसन्धान पूरा भइनसकेको प्रहरी स्रोतको भनाइ छ । 

‘अनुसन्धान त पूरा भएको छैन, तर सर्वोच्च अदालतले अब म्याद थप नगर्नू भन्ने आदेश दिइसकेकाले हाजिरी जमानीमा छाड्ने तयारी छ,’ स्रोतले भन्यो ।

ओली र लेखकमाथिको कसुरअनुसार प्रत्यक्षदर्शीको बयान पनि नभएको हुँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ अनुसार छाड्न लागिएको हो । दफा १५ मा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने व्यवस्था  छ । 

सो दफाको उपदफा (१) मा भनिएको छ, ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।’

उपदफा (२)मा मुद्दा चलाउने अवस्थामा उपस्थित हुनेगरी कागज गराएर छाड्न सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार ओली र लेखकलाई छाड्न लागिएको जनाइएको छ । 

ओली र लेखकलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान झिसमिसेमै उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो । 

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरूमाथि छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरूलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?