वर्षा गराउने प्रणाली अहिले पूर्वतिर सर्दै, सतर्क रहन आग्रह

लोकपथ
175
Shares

काठमाडौं । नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसममा बदली भई वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ ।

विशेषगरी कोशी प्रदेशका केही स्थानहरूमा र मधेश तथा बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । वर्षा गराउने मौसमी प्रणाली अहिले पूर्वी दिशातर्फ सर्न थालेको छ ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जस्ता कोशी प्रदेशका पूर्वी भू–भागतर्फ बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

पहाडी भू–भागमा वर्षासँगै चट्याङको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुले आंशिक प्रभाव देखाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?