युद्धविरामपछि पनि लेबनानमा इजरायली हमला, इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

लोकपथ
455
Shares

 काठमाडौं । इरानले  होर्मुज जलमार्ग पुनः बन्द गरेको छ । लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहमाथि गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यस्तो कदम चालेको हो । यसले एक महिनाभन्दा लामो युद्ध अन्त्यका लागि गरिएको नाजुक युद्धविराम सम्झौता संकटमा परेको छ ।

बुधबार इजरायलले राजधानी बेरुतका व्यापारिक तथा आवासीय क्षेत्रमा आक्रमण तीव्र पार्दा कम्तीमा १८२ जनाको मृत्यु भएको छ । यो इजरायल–हिजबुल्लाह द्वन्द्वकै सबैभन्दा घातक दिनका रूपमा रहेको बताइएको छ ।

यसैबिच, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले वासिङ्टनले १० बुँदे सर्तमध्ये तीनवटा उल्लंघन गरेको आरोप लगाउँदै आगामी वार्ता तर्कहीन हुने बताएका छन् । उनका अनुसार हिजबुल्लाहमाथि निरन्तर आक्रमण, युद्धविरामपछि इरानी आकाशमा ड्रोन घुसपैठ र युरेनियम संवर्धन क्षमतालाई मान्यता नदिनु मुख्य विवाद हुन् ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध अन्त्य पनि युद्धविरामकै हिस्सा भएको बताएका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने उक्त सम्झौताले लेबनानलाई नसमेट्ने स्पष्ट पारेका छन् ।

अमेरिकी रक्षासचिव पिट हेगसेथले अमेरिकी तथा इजरायली सेनाले ठुलो सैन्य सफलता हासिल गरेको दाबी गरेका छन् । यता, इरानी सेनाले भने आफूले अमेरिका–इजरायललाई आफ्ना सर्त स्वीकार गर्न बाध्य पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?