राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : अशोकराज सिग्देल

लोकपथ
42
Shares

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएका छन् ।

आज तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको बताए ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा जोगाउँदै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम र आधुनिक संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले देशको सार्वभौमिकताको रक्षा मात्र नभई आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सेनाले खेलेको भूमिकाका कारण नेपाली सेना स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित भएको बताए ।

यसैगरी, उनले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको जानकारी दिए ।

प्रधानसेनापति सिग्देलले समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किङ क्षेत्रमा देखिएको चुनौती, मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा कमी आउँदा कल्याणकारी कार्यक्रम सञ्चालन र त्यसको दिगोपनामा थप चुनौती उत्पन्न भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?