सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छ : अञ्जन श्रेष्ठ

लोकपथ
77
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुपर्ने बताएका छन् ।

तयारी पोसाक निर्यातकर्ता संघ नेपालद्वारा आयोजित ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धन: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

श्रेष्ठले नेपालको करिब ७० प्रतिशत उपभोग आयातमा निर्भर रहेको उल्लेख गर्दै यसलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने बताए । कुनै समय करिब १ हजार २ सय ५० को हाराहारीमा रहेका गार्मेन्ट उद्योगहरू हाल घटेर करिब १०० मा सीमित भएकोप्रति उनले चिन्ता व्यक्त गरे । यस क्षेत्रको विकासका लागि एकीकृत सोच आवश्यक रहेको उनको भनाइ छ ।

उनले ‘फार्म टु फरेन’ अवधारणाअनुसार फार्म, फाइबर, फेब्रिक, फेसन र फरेनलाई समेट्ने ‘पाँच एफ’ मोडेल अघि सारे । यसका लागि सशक्त ‘गार्मेन्ट काउन्सिल’ वा विभाग गठन आवश्यक रहेको उनले बताए ।

सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीप्रति आपत्ति जनाउँदै श्रेष्ठले सरकार आफैँ उद्योग सञ्चालन गर्नु उपयुक्त नहुने धारणा राखे । बरु निजी क्षेत्रलाई सहुलियत दिई उत्पादन लागत घटाउन सहयोग गर्नुपर्ने उनको जोड थियो ।

प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले रोजगारीमा प्रभाव पार्ने चर्चा भइरहेका बेला नेपालमा घट्दो जन्मदर र युवा पलायनका कारण भविष्यमा श्रम शक्ति अभाव हुन सक्ने चेतावनी उनले दिए ।

अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि नेपाली निर्यातले पाउँदै आएको सहुलियत गुम्ने जोखिम रहेको उल्लेख गर्दै श्रेष्ठले यसलाई कम्तीमा तीन वर्ष पछि सार्न महासंघले सरकारसँग पहल गरिरहेको जानकारी दिए । अर्थमन्त्रीसँगको छलफल सकारात्मक रहेको र सरकार लचिलो हुने आश्वासन दिएको उनले बताए ।

निर्यात व्यवसायीलाई प्रदान गरिने नगद प्रोत्साहन समयमै उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । ‘हामी ७० प्रतिशत वस्तु आयात गर्छौँ, यसको अर्थ ७० प्रतिशत उत्पादन बढाउने अवसर अझै छ,‘उनले भने, ‘सियोदेखि गाडी एसेम्बलसम्मका काम नेपालमै सम्भव छन्, आवश्यक छ त केवल इमानदार प्रयास ।’

सरकारले दुग्ध विकास संस्थान (डीडीसी) र शाही औषधि लिमिटेड जस्ता संस्थानलाई अनुदान दिएर निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउनु उपयुक्त नहुने उनको भनाइ थियो ।

आगामी चैत ३० गते हुने महासंघको निर्वाचनपछि नेतृत्व सम्हाल्ने तयारीमा रहेका श्रेष्ठले निजी क्षेत्रलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

निर्वाचनपछि क्षमता र अनुभवका आधारमा जिम्मेवारी बाँडफाँड गर्दै महासंघलाई थप सशक्त बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?