ओली–लेखकको मुद्दामा प्रहरीले माग्यो सरकारी वकिलसँग लिखित राय

लोकपथ
693
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दाका विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको छ । स्रोतका अनुसार सो पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ ।

जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई अब म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएसँगै प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको हो । 

यो केसको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत अर्थात् जिल्ला प्रहरी परिसर, भद्रकालीको मुद्दा फाँटका डीएसपी राजु अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालयसँग राय माग्दै पत्र लेखेका हुन् ।

अब सरकारी वकिलको कार्यालयले प्रहरीलाई दिने रायका आधारमा ओली–लेखक हाजिरी जमानीमा छुट्ने कि मुद्दा पेस गर्नमध्ये एउटा निर्णयमा पुग्नेछ ।

कानुनतः प्रहरीले ज्यान मुद्दामा पक्राउ परेको व्यक्तिलाई अनुसन्धान गर्न २५ दिनको म्याद पाउने र सो म्यादभित्र सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा बुझाउनुपर्ने व्यवस्था रहेपनि सर्वोच्च अदालतले ओली र लेखकका हकमा तेस्रो पटक थप भएको ५ दिनको म्यादभित्रै मुद्दा बुझाउने वा अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छोड्नेमध्ये केही गर्नू भनी आदेश दिएको थियो ।

प्रहरीले तीनपटक गरी १२ दिनको अनुसन्धानको समय पाएको थियो । 

सर्वोच्च अदालतले अहिले थप भएको म्यादभित्रै मुद्दा पेस गर्न नसकिने भए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम सरकारी वकिलको रायमा अनुसन्धान अधिकृतलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो । ओली–लेखकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले चैत २२ मा अन्तिम पटक पाँच दिनको म्याद थप गरेको थियो । सो म्याद बिहीबार गुज्रिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?