काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बलको नम्बर ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवरको विवादित भिडियो बाहिरिएसँगै त्यसप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
लोकपथ डटकमले ‘पानभन्दा साली राम्री भनेपछि फेरि विवादमा तानिए सशस्त्रका डीआईजी कुँवर’ शीर्षकमा समाचार छापेकै दिन मंगलबार सशस्त्र मुख्यालयले संगठनका सबै इकाईलाई परिपत्र गर्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरेको हो ।
परिपत्रमा भनिएको छ, ‘प्रधान कार्यालयबाट समय समयमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा भएका परिपत्र तथा निर्देशनहरू कार्यान्वयन गर्नुपर्नेमा संगठनको संस्कार र चरित्रभन्दा बाहिर गई विभिन्न सामाजिक अभियन्ता, पत्रकार परिवारजनलगायतका व्यक्तिहरूसँग संगठनको पहिचान खुल्ने गरी टिप्पणीसहितका विषयहरू विभिन्न सामाजिक सञ्जालहरूमा अपलोड गर्ने गरेको र समाचारको हेडलाइनसमेत बनिरहेको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यद्यपि, परिपत्रमा डीआईजी कुँवर र लोकपथ डटकमको नाम भने उल्लेख छैन ।

सो परिपत्रमा यस्ता कार्यबाट संगठनको छवि, गोपनीयता र आन्तरिक सुरक्षामा समेत असर पर्ने देखिएको हुँदा त्यस्ता आचरणविपरीतका क्रियाकलापहरू तथा संगठनको पहिचान खुल्ने असान्दर्भिक गतिविधिहरूलाई तत्काल रोक्न तथा हटाउन सम्बन्धित कार्यालय प्रमुखले नै विशेष चासो दिई मातहत सम्पूर्ण कर्मचारीहरूलाई जानकारी गराउन अनुरोध भएको पनि उल्लेख छ ।
सो परिपत्रमा भनिएको छ, ‘सशस्त्र प्रहरी बल, नेपाल अनुशासन र Chain of Command मा बाँधिएको संगठन भएकाले यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी अनुशासित भई संगठनको नीति निर्देशनको परिधिमा रही व्यावसायिक ढंगले कार्य सम्पादन गर्दा संगठनको व्यावसायिक कार्य क्षमता तथा गरिमा बढाउन मद्दत गर्दछ ।’
साथै परिपत्रमा वर्तमान अवस्थामा विभिन्न सामाजिक सञ्जालहरूको व्यापक प्रयोगसँगै दुरुपयोगका घटनाहरू बढिरहेको र संगठनको नीतिनिर्देशनविपरीत यस्ता कार्यसँग जोडिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम कारबाही भइरहेको ब्यहोरा पनि अवगत गराइएको छ । साथै यस किसिमका गतिविधिहरूमा संलग्न रहेको पाइएमा त्यस्ता कर्मचारीउपर सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम कारबाही गरिने पनि जनाइएको छ ।
सशस्त्र प्रहरी बलको नम्बर ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति कुँवरको अपलोड भएको एउटा टिकटक भिडियोलाई लिएर लोकपथ डटकमले समाचार प्रकाशन गरेको हो ।
नेपालगञ्जकी पत्रकार महारानी राज्यलक्ष्मी शाहको टिकटक एकाउन्टबाट अपलोड भएको सो भिडियोमा एउटा जिम्मेवार सशस्त्र प्रहरी अधिकारीले आफ्नो पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको देखेपछि लोकपथले समाचार सम्प्रेषण गरेको थियो ।

गत चैत २० गते राति ९ बजेतिर डीआईजी कुँवर ३० नम्बर गणका गणपति भीमबहादुर चन्दसहितलाई लिएर नेपालगञ्जको धम्बोजी चोकमा पान खान भनी गएका थिए । त्यसबेला नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्षसमेत रहेकी महारानी राज्यलक्ष्मी शाहले पान कस्तो लाग्यो भनेर सोध्दा डीआईजी कुँवरले मस्किँदै ‘पानभन्दा साली राम्री’ भनेका थिए ।
पान खाने क्रममा महारानीले टिकटक बनाई ‘पब्लिस’ गरेपछि डीआईजी कुँवरको त्यसबेलाको विवादित अभिव्यक्तिसहितको टिकटक भिडियो बाहिरिएको थियो ।
सो टिकटकमा महारानीले भनेकी थिइन्, ‘अब भिनाजु, महारानी, राजा कहाँ जाने भनिस्यो । अब म हजुरलाई त्रिभुवन चोकको राबडी खुवाउँछु, त्यसपछि त्रिभुवन चोकको स्पेसल परिकार खुवाउँछु, अनि जाँदा १५ हजार दिन्छु, रिटर्न नगर्ने गरी ।’ उनले राजा भनेको व्यक्ति भने गणपति चन्द हुन् ।
यो पनि
‘पानभन्दा साली राम्रो’ भनेपछि फेरि विवादमा तानिए सशस्त्रका डीआईजी कुँवर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया