मृत्युको अनुसन्धानरत घटनामा रास्वपा सांसद सुनारले गरे हत्याको ठोकुवा !

अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीको चिन्ता

काठमाडौं । चैत २५ गते मंगलबार संसद्को शून्य समयमा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपालगन्जमा भएको मृत्युको घटनालाई हत्या भन्दै प्रहरीमाथि लापरबाहीको आरोप लगाएका छन् । गत चैत १३ गते राति भएको सिर्जना बुढाको मृत्युलाई लिएर रास्वपा सांसद सुनारले हत्याको ठोकुवा गरेका हुन् ।

मंगलबार संसदमा बोल्ने क्रममा सुनारले भनेका छन्, ‘गत चैत १३ गते नेपालगन्जमा सिर्जना बुढाको पेट्रोल छर्किएर हत्या भएको छ ।’

सांसद सुनारले अदालतबाट ठहर नै भइसकेको जस्तो गर्दै उनले सिर्जना बुढाको हत्या भएको ठोकुवा गरेका छन्, जबकि उक्त घटनाका सम्बन्धमा बाँके प्रहरीले अहिलेसम्म पनि अनुसन्धान गरिरहेको छ र तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सांसद सुनारले उक्त घटना हुनुको कारणमा प्रहरीलाई नै दोषी देखाउन समेत खोजेका छन् । उनले भनेका छन्, ‘त्यस पूर्व उनले (सिर्जना बुढाले) प्रहरीमा उजुरी गरेकी थिइन्, तर प्रहरीले गम्भीरतापूर्वक नलिँदा यो घटना भएको छ । उनको ३ वर्षीय नाबालिग छोरी पनि छिन्, उनको राज्यले उचित लालन पालनका लागि आग्रह गर्दछु ।’

रास्वपा सांसद खगेन्द्र सुनार/फाइल तस्वीर ।

यसरी गरिमामय संसदबाटै रास्वपा सांसद सुनारले बाँकेको नेपालगन्जमा गत चैत १४ गते राति (सांसद सुनारले भने झैँ चैत १३ गते होइन) भएको मृत्युको घटनालाई ‘पेट्रोल छर्किएर हत्या गरिएको’ भन्दै अनुसन्धानमै रहेको घटनालाई अतिरञ्जित पार्ने र अनुसन्धानलाई नै प्रभावित पार्ने काम गरेका छन् । सांसद सुनारले घटना भएको मितिलाई समेत अर्को भनेका छन् भने अनुसन्धानलाई नै प्रभावित पार्ने गरी संसदमा विषय उठाएका छन् ।

भएको के थियो ?
गत चैत १४ गते राति ११:३५ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरमा एक महिला जल्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै पुगेको प्रहरीले अत्यधिक जलेको अवस्थामा महिलालाई उद्धार गरी अस्पताल पुराए पनि उपचारका क्रममा चैत १५ गते बिहान ०१:२० को समयमा महिलालाई मृत घोषणा गरेको थियो ।
घटनाका समयमा ती महिला को थिइन् भन्ने जानकारी नरहेको भए पनि भोलिपल्ट बिहान ९ बजे मृत महिलाको साथमा भेटिएको मोबाइलको सिमकार्ड निकालेर अर्को मोबाइलमा राखेर नम्बर पत्ता लगाई खोजिबिन गर्दा ती महिला बाँकेको नेपालगन्ज १२ बस्ने २२ सिर्जना बुढा मगर भएको पत्ता लागेको थियो । त्यसपछि मात्रै प्रहरीले परिवारलाई खबर गरी थप अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीको अनुसन्धानमा सिर्जना विवाहित रहेको र उनको ४ वर्षको छोरीसमेत रहेको तर पाइएको थियो । तर आफ्नो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी स्थानीय मोहम्मद आरिफ ढपालीसँग लिभिङ टुगेदरमा बस्दै आएको खुलेको थियो । सिर्जना र आरिफ विगत २ वर्षदेखि नेपालगन्ज ८ रानीतलाऊमा बस्दै आएको खुलेको थियो ।

मृतक सिर्जना बुढा मगर

घटनाको एक दिन पहिले मात्रै चैत १३ गते सिर्जनालाई आरिफले कुटपिट गरेको भन्दै प्रहरीमा खबर आएपछि प्रहरीले आरिफलाई पक्राउ गरी एक रात हिरासतमा समेत राखेको थियो । त्यसको भोलिपल्ट चैत १४ गते सिर्जना र आरिफ दुबै जना अब उप्रान्त झैँ झगडा नगर्ने र मिलेर बस्ने भन्दै सहमति गरेर गएका थिए ।

तर प्रहरी कार्यालयबाट बिहान सहमति गरेर गएको भए पनि सोही दिन राति सिर्जना बुढा मगर आरिफको घरबाट ३० मिटरको दूरीमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बाक्लो बस्तीको बिचमा भएको उक्त घटनामा कुनै चिच्च्याहटसमेत नसुनिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

घटना भएको समयमा प्रेमी भनिएका लिभिङ टुगेदरमा बस्ने आरिफ ढपाली पनि आफ्नो घरमा नै नरहेको आरिफको परिवार र स्थानीयको भनाइ रहेको छ । घटनाको समयमा आरिफ कहाँ थिए भनेर समेत प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रेमीकै घर अगाडि घटना भएपछि प्रहरीले घटनाकै भोलिपल्ट नै आरिफ तथा आरिफको आमा तथा दिदीलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको पोस्टमार्टम रिपोर्टमा शरीरको बाहिरी तथा भित्री भागमा अन्य कुनै चोटपटक नरहेको र फोक्सोमा धुवाँ भरिएको उल्लेख छ । श्वासप्रश्वास नलीमा धुवाँ भरिएको भन्नुको अर्थ मृतक जीवित नै रहेको समयमा जलेको र श्वास फेर्दा धुवाँ भित्र गएको भन्ने हो ।

उक्त घटना के केसरी भयो भनेर अहिले पनि अनुसन्धान जारी रहेको बाँकेका एसपी अंगुर जिसीले लोकपथलाई बताए । एसपी जिसीका अनुसार उक्त घटनाका सम्बन्धमा अहिले पनि अनुसन्धान भइरहेको र घटनाको कारक वा शंकितका रूपमा रहेका ३ जनालाई नियन्त्रणमा राखिएको बताए । घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान गर्न डिएसपीको कमान्डमा ५ सदस्यीय समिति समेत गठन गरी अनुसन्धान भइरहेको र अबको केही दिनमै प्रतिवेदन आएपछि हत्या हो कि आत्महत्या हो भन्नेबारे यकिन हुने जिसीले बताए ।

सांसद सुनारको टिप्पणीमा प्रहरीको घुमाउरो असहमति
बाँकेका सांसद खगेन्द्र सुनारले संसदमै बोलेर पेट्रोल छर्किएर हत्या गरिएको र प्रहरीले लापरबाही गरेको आरोपका सम्बन्धमा बाँके प्रहरीले भने घुमाउरो पारामा असहमति जनाएको छ ।

सुनारको आरोपका सम्बन्धमा प्रश्न गर्दा बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले भने, ‘बाहिर कसले के के बोले त्यो हामीलाई थाहा हुने वा चासो हुने कुरा भएन । यो घटनाका सम्बन्धमा अहिले पनि अनुसन्धान जारी नै छ । अब कसैले हत्या नै हो भनेर ठोकुवा गर्छन् भने के कति आधारबाट भनिएको हो, त्यो उनीहरूलाई नै थाहा होला । प्रहरीले इमानदारीपूर्वक आफ्नो काम गरिरहेको छ, समितिको प्रतिवेदन र अन्य अनुसन्धानको काम सकिएपछि के हो भनेर भनौँला, अहिले नै यस विषयमा टिप्पणी गर्न चाहन्न ।’

प्रहरीको लापरबाहीका सम्बन्धमा प्रस्ट पार्दै जिसीले भने, ‘अब उमेर पुगेकाहरू लिभिङ टुगेदरमा बसेका छन् र झगडा गरेपछि ल्याएर थुनिएकै हो । भोलिपल्ट अबदेखि झगडा नगर्ने भनेर दुबैजनाले सहमति गरेर मिलापत्र गरी गएका छन् । उनीहरू मिलेर गइसकेपछि प्रहरीले गर्ने के नै हो र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?