ट्रम्पको धम्कीपछि इरानी राष्ट्रपतिले भने– ‘इरानी जनता बलिदानीका लागि तयार छन्’

लोकपथ
1.2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन् ।

राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए ।

‘एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु, छु र हुनेछु,’ उनले लेखेका छन् ।

त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले आज राति इरानी सभ्यता नै ध्वस्त गर्ने चेतावनी समेत दिएका छन् । ट्रम्पको उक्त धम्कीपछि विश्व त्रस्त्र भइरहेका बेला इरानी राष्ट्रपतिले सो प्रतिक्रिया दिएका हुन् ।

यसअघि, इरानका उप खेलकुदमन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकहरूलाई पावर प्लान्ट वरिपरि ‘मानव शृङ्खला’ बनाउन आह्वान गरेका थिए । यो कदम अमेरिकी राष्ट्रपति ट्रम्पको निर्धारित अल्टिमेटमसँग सम्बन्धित थियो, जसमा उनले इरानले स्ट्रेट अफ होर्मुजबाट ढुवानी पुनः सुरु नगरेमा देशका सबै पावर प्लान्ट र प्रमुख पुलहरूमा बमबारी हुने चेतावनी दिएका थिए ।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘यदि इरानले मङ्गलबार राति ८ः०० बजे पूर्वी समयअघि सम्झौता गर्न आएन भने, देशका सबै प्रमुख पुल र पावर प्लान्टहरू नष्ट गरिनेछन् ।’ उनका अनुसार यो ‘पूरै देशलाई एकै रातमा निशाना बनाउने’ योजना हुन सक्छ ।

इरानी राष्ट्रपतिको यो आह्वान अमेरिकी धम्कीको प्रतिवादका रूपमा आएको हो, जसले युवा र नागरिकलाई आफ्नै सुरक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षणमा सक्रिय भूमिका लिन प्रेरित गरेको छ ।

ट्रम्पले यसलाई ‘महत्त्वपूर्ण अवधि’ भन्दै इरानलाई वार्ता गर्न पर्याप्त समय दिएको र अब यसको परिणाम तत्काल देखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?