काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. अर्जुनकुमार कार्कीले हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार संघीय संसद् प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् ।
सांसद कार्कीले हिमाली तथा पहाडी क्षेत्रमा गाउँ गाउँमा उद्योग र घरघरमा रोजगारी सृजना गर्नका लागि सो प्राधिकरण तत्काल स्थापना गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा हिमाली तथा पहाडी क्षेत्रको विकासमा कृषि, पर्यटन र जडीबुटी विकासको ठुलो सम्भावना बोकेको सम्पदा भएको उल्लेख गर्दै सरकारले त्यसलाई परिचालन गर्ने गरी विकास आयोजनाहरूको कामलाई अघि बढाउन अति आवश्यक भएको पनि स्पष्ट पारे ।
सांसद कार्कीले भने, ‘पहाडी जिल्लाहरूको दुर्गम क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, सडकलगायतका समस्याबाट जनताहरू मारमा परेका छन् । हाम्रा हिमाली र पहाडी क्षेत्रको विकास खास गरी ठुलो सम्भावनाहरू भएको विकासमा कृषि, पर्यटन, जुडिबुटीमा आधारित रोजगारी सृजना गर्नका लागि गाउँ गाउँमा उद्योग र घरघरमा रोजगारी सृजना गर्नका लागि हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गरियोस् भनी सरकारसँग माग गर्दछु ।’
सांसद कार्कीले जनता रोजगारीको अभावमा रहेकाले पनि सरकारले सो कुरालाई ध्यानमा राखेर मुलुकको स्रोत तथा साधन परिचालन गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया