काठमाडौं । संसद र राज्यका निकायमा विरलै उठ्ने गरेको एक महत्वपूर्ण विषयले संसदमा प्रवेश पाएको छ ।
नेपालमा मात्र नभएर विश्वमा नै जटिल बनिरहेको मानसिक स्वास्थ्य समस्याबारे संसदमा आवाज उठेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले सो विषयको उठान गरेकी हुन् । त्यसो त संसदको विभिन्न आकस्मिक, शून्य र विशेष समयमा अन्य विषयहरु उठिरहने गरे पनि एक जटिल र महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेको थियो ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद धितालले
हरेक घरमा, हरेक क्षेत्र, हरेक वर्ग र पेशा व्यवसायका मानिसहरुमा मानसिक स्वास्थ्य समस्या हुन सक्ने बताउँदै त्यसलाई निराकरण गर्नतर्फ सरकार लाग्नुपर्नेमा जोड दिइन् ।
लामो समयदेखि मनोपरामर्शको क्षेत्रमा समेत काम गरिरहेकी सांसद धितालले सरकारले आगामी दिनमा स्पष्ट नीति ल्याएर त्यसलाई समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।
शून्य समयमा बोल्दै उनले भनिन् :
संसद र सरकारमा आज जे परिवर्तन देखिएको छ, यो युवा आन्दोलनको देन हो । तर आन्दोलनका शहीद परिवार होस् या घाइतेहरु या भनौँ सुरक्षाकर्मी र कर्मचारीहरु नै हामी जो कोही मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका हुनसक्छौँ । सफलता मात्र नहेरौँ यसभित्रको ठूलो समस्याहरुलाई पनि नजरअन्दाज नगरौँ । म स्वंम वा हामी मध्ये जो कोही पनि मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुनसक्छौँ । व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा परिभाषित हुँदैन । म आज संसदको यो शून्य समयमार्फत् सिंगो देशलाई आह्वान गर्न चाहन्छु मनोसामाजिक स्वास्थ्य समस्यालाई आज कि त समस्या नै होइन भन्ने जसरी बुझिएको छ कि त लुकाएर राखिएको छ । मानसिक समस्याहरु झेल्नेहरुका लागि परिवार समेतले ध्यान दिन सघाउन सकेको अवस्था छैन । स्पष्ट नीति नहुँदाका समस्या र जनस्तरमा चेतनालाई चिर्ने गरेर राज्यले मनोसामाजिक परामर्शदाताको उपयोगिता बारेमा अब नीति निर्माण गर्नुपर्ने आएको कुरा सम्मानित सदनमार्फत् सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया