सालीलाई जिस्काएपछि फेरि विवादमा तानिए सशस्त्रका डीआईजी कुँवर

काठमाडौं । सशस्त्र प्रहरी बलको नम्बर ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवर बाहिनीको एक वर्षे कार्यकाल पूरा गरेर सरुवा हुने तर्खरमा रहेका बेला अर्को एउटा विवादमा मुछिएका छन् ।

विगतमा बाहिनी कार्यालय आसपासको क्षेत्रका रुख काटेर विवादमा तानिएका बाहिनीपति कुँवर अहिले नेपालगञ्जमा पान खाने नाममा ‘साली’ लाई जिस्क्याएर विवादमा तानिएका हुन् । उनको यो ‘हर्कत’लाई सशस्त्र प्रहरी बलकै जिम्मेवार अधिकृतहरूले सहजरुपमा लिन सकेका छैनन् । नेपाल सरकारको प्रथम श्रेणीका उच्चपदस्थ अधिकारी कुँवरले पदीय गरिमाकै धज्जी उडाएको टिप्पणी पनि भइरहेको छ । 

भएको के हो ? 

सशस्त्र प्रहरी बलको नम्बर ५ विन्ध्यवासिनी बाहिनीको कार्यालय कपिलवस्तुमा रहेको छ । आफ्नै मातहतको कार्यालय नेपालगञ्जस्थित ३० नम्बर गणको वार्षिकोत्सव मनाउन गएका बेला उनले पान खाने नाममा सालीलाई जिस्क्याएका हुन् । 

सो गणको वार्षिकोत्सव चैत २१ गते मनाउने गरिन्छ । उनलाई सालीलाई जिस्क्याएको भने चैत २० गते राति ९ बजेतिर हो । साली जिस्क्याएको भोलिपल्ट उनी प्रमुख अतिथिको हैसियतमा गणको वार्षिकोत्सवमा सहभागी भएका थिए ।

डीआईजी कुँवरले ‘पानभन्दा साली राम्री’ भनेर जिस्काएकी महिला हुन्, महारानी राज्यलक्ष्मी शाह । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्षसमेत हुन् । पान खाने क्रममा महारानीले टिकटक बनाई ‘पब्लिस’ गरेपछि डीआईजी कुँवरको त्यसबेलाको विवादित अभिव्यक्तिसहितको टिकटक भिडियो बाहिरिएको हो । महारानीले टिकटक बनाइरहेका बेला ३० नम्बर गण हेडक्वार्टरका गणपति भीमबहादुर चन्द पनि सँगै थिए ।

नेपालगञ्जको धम्बोजी चोकमा पान खाँदै गर्दा महारानीले आफूतिर सेल्फी मोडमा क्यामरा सोझ्याउँदै डीआईजी कुँवरलाई सोध्छिन्, ‘भिनाजु, पान कस्तो लाग्यो ?’ उनको यो प्रश्न सामान्य नै हो । 

महारानीकै पछाडि पान खाँदै उभिएका डीआईजी कुँवर जवाफमा भन्छन्, ‘पानभन्दा साली राम्री लाग्यो भन्या ।’ त्यसपछि महारानी भन्छिन्, ‘साली राम्री है भिनाजु !’ डीआईजी कुँवरको भनाइलाई उनी पनि सहजैरुपमा लिन्छिन् । 

त्यसपछि महारानी भन्छिन्, ‘अब भिनाजु, महारानी, राजा कहाँ जाने भनिस्यो । अब म हजुरलाई त्रिभुवन चोकको राबडी खुवाउँछु, त्यसपछि त्रिभुवन चोकको स्पेसल परिकार खुवाउँछु, अनि जाँदा १५ हजार दिन्छु, रिटर्न नगर्ने गरी ।’ उनले राजा भनेको व्यक्ति भने गणपति चन्द हुन् ।

हेर्नुहोस्, टिकटक भिडियो :

अघिल्लो रात साली जिस्काएका कुँवरले भोलिपल्ट २१ गते भने गणको वार्षिकोत्सवमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आपसी समन्वय र पेसागत दक्षता अपरिहार्य रहेको भन्दै भाषण ठोकेका थिए ।

नम्बर ५ बाहिनी जान उनले केसम्म गरेका थिएनन् ?

२०८२ साल बैशाख ११ गते १२ जना डीआईजीको सरुवा हुँदा कुँवरलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको थियो । त्यसबेला नम्बर ५ विन्ध्यवासिनी बाहिनीमा जान उनले सत्ताको चरम दुरुपयोग गरेका थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुर घर भएका कुँवरले तत्कालीन कांग्रेस–एमाले सरकारलाई ‘दबाब’ दिएर सो बाहिनीका बाहिनीपति डीआईजी प्रदीपकुमार पाललाई ८ महिनामै सरुवा गर्न लगाएर आफू त्यहाँ गएका थिए । पाललाई भने तत्कालीन सरकारले नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली सरुवा गरेको थियो । 

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले २०८१ साल फागुन ८ गते कुँवरलाई डीआईजीमा बढुवा सिफारिस गर्दा पनि उनी आलोचित बन्न पुगेका थिए । सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ नम्बरमा रहेका कुँवर तत्कालीन सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकको रोजाइमा पर्दा उनीभन्दा सिनियर छुटेका थिए । कुँवर कांग्रेसका तत्कालीन सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् । त्यसकारण सशस्त्रमा उनलाई ज्वाइँ डीआइजी भन्ने गरिन्छ । 

त्यसबेला उनीभन्दा दुई ब्याच सिनियर र वरीयतामा चार जना अघि भए पनि उनीहरूमध्ये तीन जनालाई छुटाएर जुनियरलाई बढुवा गरिएको भन्दै आलोचना भएको थियो । त्यसबेला कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई डीआईजीको बढुवा सिफारिसमा पारिँदा प्रहरीबाट स्थानान्तरण भई आएका कृष्णराज पाठक, सिसं १ का मनिष थापा र प्रहरीबाटै स्थानान्तरण भई आएका प्रवीण कँडेललाई छुटाइएको थियो । थापा र पाठक अहिले डीआईजी भइसकेका छन् । 

सत्ताको आडमा जहिले पनि चलखेल

गृह मन्त्रालयले १४ जनालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्दा पहिलो नम्बरमा प्रवीण कँडेल भए पनि सिसम २ को हकमा कुँवरलाई नै पहिलो वरीयतामा बढुवा गरिएको थियो । त्यसबेलाका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको नातेदार भएकै कारण कुँवरलाई पहिलो नम्बरमा बढुवा सिफारिस गरिएपछि सशस्त्र प्रहरीमा त्यसबेला तीव्र असन्तुष्टि देखिएको थियो ।

कुँवरलाई एसएसपीमा बढुवा गर्नैका लागि सरकारले त्यसबेला सशस्त्र प्रहरी नियमावली २०७२ नै संशोधन गरेको थियो । नियमावलीको नियम ४० मा बढुवाका लागि ‘सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएकोमा कुँवरलाई बढुवा गर्नकै लागि सरकारले नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्ष मात्रै भए पुग्ने बनाएको थियो । नियमावली संशोधन नगरेको भए कुँवर त्यसबेला बढुवा हुन योग्य नै हुने थिएनन् । त्यसबेला यतिसम्म भएको थियो कि, नियमावली संशोधन गर्नेबित्तिकै कार्यान्वयनमा ल्याइएको थियो ।

कुँवर २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यतिबेला उनी ७४ जना ब्याचीमध्ये सबैभन्दा पुछारतिर थिए । एसएसपी बढुवामा सिसम २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको पहिलो नम्बरमा रहेका भट्टलाई तत्कालीन सत्ताको आडमा कुँवरभन्दा पछाडि राखेर बढुवा गरिएको थियो । त्यसबेला संगठनप्रति इमानदार, क्षमतावान् अधिकृतहरू भट्टसहित अन्यलाई पछाडि पारेर कुँवरलाई पहिलो नम्बरमा बढुवा गरिएको भन्दै चर्को आलोचनासमेत भएको थियो । 

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपी हुँदा भने कुँवर आफ्नो ब्याचको १०औँ नम्बरमा आएका थिए । कुँवरका सजिलो हुने गरी सरकारले गरेको त्यो नै पहिलो निर्णय थिएन । उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको थियो । एसपीबाट एसएसपी हुन चार वर्षको अवधि पूरा गरेको हुनुपर्ने भए पनि सशस्त्र प्रहरीमा एसएसपीको पद रिक्त भए वरिष्ठ एसपीहरूलाई नै कायममुकायम एसएसपीको दर्जा दिने चलन थियो । २०७७ माघमा सशस्त्र प्रहरीमा एसएसपीका आठ पद रिक्त भएका थिए । तर सरकारले एक वर्षसम्म कसैलाई कामु दिएन । जब ११ औँ नम्बरसम्म पद खाली भयो तब मात्रै कुँवर समेतलाई समेटेर कामु बनाइएको थियो ।

सशस्त्रको स्टाफ कलेजमै दुई पटक फेल

सशस्त्रमा डीआईजीमा बढुवा हुन स्टाफ कलेज पास गर्नै पर्छ । यो नियम सशस्त्र प्रहरी निरीक्षकमा फ्री कम्पिटिसनमा लडेकाको हकमा मात्रै हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थानान्तरण भएकाको हकमा भने यो नियम लागू हुँदैन । ‘ज्वाइँ’ कुँवर भने सशस्त्रको स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए ।

दुई पटकसम्म पनि फेल भएपछि उनलाई बिना प्रतिस्पर्धा नेपाली सेनाको शिवपुरीमा हुने स्टाफ कलेजको कोर्सका लागि पठाइएको थियो । माथिल्लो निकायमा इच्छा व्यक्त गरेपछि उनलाई त्यसैअनुसार नै सहभागी गराइएको थियो । एक घण्टा पनि एकै ठाउँ बसेर लेख्न नसक्ने आरोप लाग्ने गरेका कुँवरलाई नेपाली सेनाको स्टाफ कलेजमा कोर्सका लागि ठाउँ दिएको भन्दै तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चर्को आलोचना भएको थियो ।

वेयर हाउसमा भएको ‘आगलागी’ प्रकरणमा पनि जोडिएका थिए

तीन वर्षअघि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डार वेयर हाउसमा भएको ‘आगलागी’ प्रकरणमा पनि उनी जोडिएका थिए ।

त्यसबेला भएको घटनाअघि र पछिका उनका गतिविधिले ‘आगलागी’ प्रकरणमा उनी प्रत्यक्ष जोडिने आधारहरू प्रशस्त मात्रामा देखिएका थिए । आगलागीको वास्तविक कारण कुँवर नेतृत्वको प्रबन्ध महाशाखाले गर्दै आएको ठेक्कापट्टामा कमसल तथा न्यून परिमाणको गुणस्तर परीक्षण नगरी स्टोर गरेका सामानको लगत लुकाउने उद्देश्य हुन सक्ने चर्चा त्यसबेला चलेको थियो । तर, शक्तिकेन्द्रको आडमा उनीमाथि कारबाही त कुरै छाडौँ, अनुसन्धानको सामान्य पेरिमिटरमा पनि ल्याउने काम भएन । बरु, आगलागीपछि पनि उनैलाई ठेक्कापट्टा र खरिदसम्बन्धी काम गर्ने प्रबन्ध महाशाखाको जिम्मेवारीमा यथावत् राखेर प्रमाण लुकाउने मौका दिइएको थियो । उनी ३ वर्षभन्दा बढी प्रबन्ध महाशाखाको प्रमुख भएर बसेका थिए । डीआईजीमा बढुवा भएपछि मात्रै उनले प्रबन्ध महाशाखा छाडेका थिए ।

अहिले भने निरीह

आफ्नो स्वार्थका लागि जे पनि गर्न पछि नपर्ने र कुनै बेला आफूभन्दा सिनियर अधिकृतहरूलाई पनि आफ्नो अघि पछि लगाएर हिँड्ने यिनै डीआईजी कुँवर अहिले भने निरीह छन् । कुनै बेला अरूलाई एआईजी, आईजी बनाउने ल्याकत राख्ने कुँवरलाई जेनजी आन्दोलनपछि विकसित घटनाक्रम र हालै सम्पन्न निर्वाचन परिणामपछि भने आफू नै कसरी जोगिने भन्ने अवस्थामा पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?