काठमाडौं । न्यायालय कुनै एक व्यक्तिको प्रयासले मात्र चल्ने संस्था होइन । यो यस्तो प्रणाली हो जहाँ न्यायाधीश, कानुन व्यवसायी (वकिल) र कर्मचारी–यी तीन वटै पक्षको संयुक्त भूमिकाले न्यायिक प्रक्रिया अघि बढ्छ । अदालतमा आउने प्रत्येक मुद्दा अन्ततः न्यायाधीशको फैसला मार्फत टुंगिन्छ, तर त्यो अवस्थासम्म पुग्न धेरै प्रक्रियागत चरणहरू पार गर्नुपर्छ । ती चरणहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन वकिल र कर्मचारीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले न्यायालयको कार्यसम्पादन प्रभावकारी बनाउन यी तीन पक्षबिचको समन्वय अत्यन्त आवश्यक हुन्छ ।
वास्तवमा अदालतमा आउने मुद्दा न न्यायाधीशका हुन्छन्, न वकिलका, न त कर्मचारीका नै । ती त न्याय खोज्दै आएका सेवाग्राहीका मुद्दा हुन् । सेवाग्राहीले न्यायको अपेक्षामा अदालतको ढोका ढकढक्याउँदा उसले अदालतभित्र रहेका सबैलाई एउटै संस्थाको प्रतिनिधिका रूपमा हेर्छ । त्यसैले अदालतभित्र रहेका सबै पक्षले आफ्नो जिम्मेवारीप्रति सचेत रहनु अनिवार्य हुन्छ ।
न्यायाधीशको प्रमुख दायित्व निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत निर्णय गर्नु हो । वकिलले आफ्ना पक्षका तर्फबाट कानुनी तर्क, प्रमाण र दाबी प्रस्तुत गर्छन् । कर्मचारीले अदालतको प्रशासनिक तथा प्रक्रियागत कामलाई व्यवस्थित राख्ने जिम्मेवारी निभाउँछन् । मुद्दा दर्ता, फाइल व्यवस्थापन, आदेश कार्यान्वयन जस्ता काम उनीहरूकै माध्यमबाट सञ्चालन हुन्छन् । यसरी हेर्दा यी तीनै पक्ष न्यायिक प्रक्रियाका अभिन्न अंग हुन् ।
अदालत परिसरमै कानुन व्यवसायीको निरन्तर उपस्थिति, मुद्दाको प्रक्रियामा प्रत्यक्ष संलग्नता र अदालतसँगको नियमित सम्पर्कका कारण समाजले उनीहरूलाई पनि अदालतकै अंग जस्तो बुझ्ने गरेको देखिन्छ ………..
तर समाजमा देखिने एउटा धारणा भने गम्भीर चिन्ताको विषय बन्ने गरेको छ । धेरै सेवाग्राहीले कानुन व्यवसायीलाई पनि अदालतकै कर्मचारी जस्तो ठान्ने गरेको देखिन्छ । वास्तवमा वकिल अदालतका कर्मचारी होइनन्, उनीहरू स्वतन्त्र कानुन व्यवसायी हुन्, जसले सेवाग्राहीको पक्षबाट कानुनी प्रतिनिधित्व गर्ने काम गर्छन् । तर अदालत परिसरमै उनीहरूको निरन्तर उपस्थिति, मुद्दाको प्रक्रियामा प्रत्यक्ष संलग्नता र अदालतसँगको नियमित सम्पर्कका कारण समाजले उनीहरूलाई पनि अदालतकै अंग जस्तो बुझ्ने गरेको देखिन्छ ।
यो धारणा सतही रूपमा स्वाभाविक जस्तो देखिए पनि यसले कहिलेकाहीँ भ्रम र गलत अपेक्षा जन्माउने गर्छ । यदि सेवाग्राहीले वकिलमार्फत अदालतको प्रक्रिया वा निर्णयलाई प्रभावित गर्न सकिन्छ भन्ने सोच राख्न थाले भने त्यसले न्यायिक प्रणालीप्रति नै अनावश्यक शंका पैदा गर्छ । त्यसैले वकिलहरूले पनि आफ्नो पेसागत मर्यादा कायम राख्दै अदालतसँगको सम्बन्ध स्पष्ट र पारदर्शी राख्नु आवश्यक हुन्छ ।
वकिल : अदालतका अधिकारी अर्थात् अफिसर अफ दि कोर्ट
यहाँ सबैभन्दा महत्त्वपूर्ण कानुनी अवधारणा के छ भने वकिलहरू अदालतका अधिकारी (अफिसर अफ दि कोर्ट) हुन् । यो अवधारणा आधुनिक न्यायिक प्रणालीको जग हो र यसले वकिल वा कानुन व्यवसायीको हैसियत र दायित्वको साँचो स्वरूप स्पष्ट गर्छ । कानुन व्यवसायीलाई ‘अफिसर अफ दि कोर्ट’ भनिनुको गहिरो अर्थ छ । यसको मतलब वकिलहरू केवल आफ्ना पक्षका प्रतिनिधि मात्र होइनन्, बरु तिनीहरू न्यायालयको अभिन्न अंग हुन् जसले न्यायिक प्रक्रियालाई सहज, इमानदार र प्रभावकारी बनाउन मद्दत गर्छन् भन्ने बुझाई हो ।

‘अफिसर अफ दि कोर्ट’ को अवधारणा ऐतिहासिक रूपमा कमन ल प्राक्टिस वा परम्पराबाट विकसित भएको हो । यसको आधारभूत मान्यता भनेको नै ‘वकिलहरूले न्यायालयलाई सत्य तथ्य र कानुनी तर्कहरू प्रस्तुत गरेर न्याय निरूपणमा सहयोग गर्छन्’ भन्ने हो । त्यसैले कानुन व्यवसायीहरू न्यायालयको ‘अधिकारी’का रूपमा हेरिन्छन् । यो हैसियतले वकिललाई विशेष अधिकार त दिन्छ नै, सँगै धेरै नैतिक र व्यावसायिक दायित्वहरू पनि दिएको हुन्छ ।
वकिलहरूले अदालतमा उपस्थित भई बहस गर्ने, कानुनी राय प्रस्तुत गर्ने र आफ्ना पक्षका विषयहरू राख्ने गर्दछन्, तर यी सबै कार्य अदालतप्रतिको वफादारी र इमानदारीको सीमाभित्र रही गरिनुपर्ने हुन्छ ………
नेपाली न्यायिक परिप्रेक्ष्यमा पनि यही अवधारणा स्वीकार गरिएको छ । नेपालको सर्वोच्च अदालतले वकिलहरूलाई अदालतको अधिकारीको रूपमा व्याख्या गरेको छ । वकिलहरूले अदालतमा उपस्थित भई बहस गर्ने, कानुनी राय प्रस्तुत गर्ने र आफ्ना पक्षका विषयहरू राख्ने गर्दछन्, तर यी सबै कार्य अदालतप्रतिको वफादारी र इमानदारीको सीमाभित्र रही गरिनुपर्ने हुन्छ । वकिलले आफ्नो पक्षलाई न्याय दिलाउन प्रयास गर्छ, तर त्यो प्रयास कहिल्यै अदालतलाई भ्रमित पार्ने, प्रमाण लुकाउने वा असत्य र झूटो तथ्य पेस गर्ने कार्यमा खर्च गर्नु हुँदैन ।
वकिललाई ‘अफिसर अफ दि कोर्ट’ भनिनुका विशिष्ट कारणहरू यस प्रकार छन् :
पहिलो, वकिलहरूले न्यायालयमा कानुनी प्रक्रियाको पालना गराउने काम गर्छन् । मुद्दाको पेसी, बहस, दलिल लगायत सबै प्रक्रियागत चरणहरूमा वकिलहरूकै माध्यमबाट काम अघि बढ्छ । यदि वकिलहरूले प्रक्रियालाई सहज बनाएनन् भने न्यायालयको काम अलपत्र पर्छ ।
दोस्रो, वकिलहरूले न्यायालयलाई सही कानुनी निरूपणमा मद्दत गर्न सक्छन् । न्यायाधीशले दुवै पक्षको बहस र तर्क सुनी मिसिल हेरेपछि मात्रै निष्पक्ष निर्णय गर्न सक्छन् । वकिलहरूले आ-आफ्नो पक्षका सान्दर्भिक कानुन र उदाहरण प्रस्तुत गरेर न्यायालयलाई सही निर्णयमा पुग्न सहयोग पुर्याएका हुन्छन् ।
तेस्रो, वकिलहरूले न्यायिक मर्यादा र गरिमा कायम राख्न मद्दत गर्छन् । अफिसर अफ दि कोर्टको हैसियतले वकिलहरूले अदालतको अवहेलना अर्थात् कन्टेप्ट अफ कोर्ट नहुने गरी व्यवहार गर्नुपर्छ, अदालतको निर्देशनको पालना गर्नुपर्छ र सम्मानजनक ढंगले आफ्नो पेसा अभ्यास गर्नुपर्छ ।
चौथो, वकिलहरूले न्यायालयको कार्यभार व्यवस्थापनमा सहयोग पुर्याउने गर्छन् । समयमै बहस सक्ने, अनावश्यक तर्क गरेर वा असान्दर्भिक नजिर र प्रसङ्ग नझिक्ने जस्ता कामले अदालतको समयको बचत गर्छ र छिटो न्याय दिन सहयोग पुग्छ ।
पाँचौँ, वकिलहरूले न्यायालयलाई सत्य तथ्यमा पुर्याउन मद्दत गर्छन् । वकिलले जानीजानी झुटो प्रमाण पेस गर्नु हुँदैन, ग्राहकलाई झुटो बयान दिन प्रोत्साहित गर्नु हुँदैन । यो अफिसर अफ दि कोर्टको सबैभन्दा महत्त्वपूर्ण नैतिक दायित्व हो ।
अफिसर अफ दि कोर्टको हैसियतले वकिलको दोहोरो जिम्मेवारी
वकिलहरूको दोहोरो जिम्मेवारी हुन्छ –एकातिर आफ्ना पक्षको बृहत्तर हितमा वफादार हुनुपर्छ भने अर्कातिर न्यायालयप्रति इमानदार । कहिलेकाहीँ यी दुई जिम्मेवारी एकापसमा ठोक्किन पनि सक्छन् । ग्राहकले चाहेको कुरा कानुनसम्मत नहुन सक्छ, वा प्रमाणले त्यसको ठिक विपरीत वा फरक भनिरहेको पनि हुनसक्छ । यस्तो अवस्थामा वकिलले अदालतको अधिकारीको हैसियतले कानुन र नैतिकताको पक्षमा उभिनुपर्छ । उसले न्यायालयलाई भ्रमित पार्ने काम गर्नु हुँदैन । यही कारणले वकिललाई केवल ‘एजेन्ट’ वा ‘प्रतिनिधि’ भन्दा फरक मानिन्छ र अदालतका अधिकारी भन्ने गरिन्छ ।
न्यायाधीश, वकिल र कर्मचारी न्यायिक प्रणालीका औपचारिक र जिम्मेवार अंग हुन् । वकिलहरू अफिसर अफ दि कोर्ट भएकाले तिनीहरू न्याय प्रणालीको मेरुदण्ड हुन्, बिचौलिया होइनन् ………..
समाजमा कहिलेकाहीँ न्यायाधीश, वकिल र कर्मचारी -यी तीनै पक्षलाई नै ‘बिचौलिया’ जस्तो आरोप लगाइने प्रवृत्ति पनि देखिन्छ । यस्तो आरोप न्यायालयको गरिमासँग मेल खाने विषय होइन । बिचौलिया त त्यो हो जो प्रणालीभन्दा बाहिर बसेर व्यक्तिगत स्वार्थका लागि प्रभाव पार्न खोज्छ । तर न्यायाधीश, वकिल र कर्मचारी त न्यायिक प्रणालीका औपचारिक र जिम्मेवार अंग हुन् । वकिलहरू अफिसर अफ दि कोर्ट भएकाले तिनीहरू न्याय प्रणालीको मेरुदण्ड हुन्, बिचौलिया होइनन् । केही व्यक्तिको गलत व्यवहारका आधारमा सम्पूर्ण संस्थालाई शंकाको घेरामा राख्नु न्यायसंगत हुँदैन ।
समन्वयको आवश्यकता
यसका लागि सबैभन्दा आवश्यक कुरा आपसी सहकार्य हो । जब वकिलहरूले आफूलाई अदालतको अधिकारी अर्थात् अफिसर अफ दि कोर्ट ठान्छन् र त्यही अनुरूप आचरण गर्छन्, तब न्यायाधीश र कर्मचारीसँगको समन्वय स्वतः सुदृढ हुन्छ । अदालतको प्रक्रियामा तीनै पक्ष मिलेर अघि बढ्छन् । वकिलले समयमै बहस गर्ने, आवश्यक कागजात पेस गर्ने, अदालतको निर्देशनको पालना गर्ने काम गर्छ भने कर्मचारीले फाइल व्यवस्थापन र म्याद सूची सही राख्ने काम गर्छन् । न्यायाधीशले दुवै पक्षको तर्क सुनेर निष्पक्ष आदेश वा फैसला दिने काम गर्छन् । यी तीनै पक्षको तालमेल नै सफल न्यायिक प्रणालीको आधार हो ।

एक-अर्कालाई दोषारोपण गरेर कुनै समस्या समाधान हुँदैन । ढिलाइ भयो भने कर्मचारीलाई दोष दिने, प्रक्रिया जटिल भयो भने वकिललाई दोष दिने वा कुनै विवाद उत्पन्न भयो भने न्यायाधीशमाथि प्रश्न उठाउने प्रवृत्तिले समाधान होइन, झन् समस्या बढाउँछ । अदालतभित्रको वातावरण आरोप-प्रत्यारोपले होइन, समन्वय र जिम्मेवारीको भावनाले बलियो बन्नुपर्छ । वकिलहरू अफिसर अफ दि कोर्ट भएको मान्यता न्यायाधीश, कर्मचारी र स्वयम् वकिलले बुझेमा मात्र यो सम्भव छ ।
समाजमा फैलिएका भ्रमहरू चिर्न सक्ने विश्वसनीय वातावरण निर्माण गर्नु पनि अन्ततः यही तीन पक्ष -न्यायाधीश, वकिल र कर्मचारीकै साझा जिम्मेवारी हो । पारदर्शी कार्यशैली, स्पष्ट प्रक्रिया र इमानदार व्यवहारमार्फत न्यायालयप्रति विश्वास जगाउने काम अदालत भित्रैबाट सुरु हुनुपर्छ । जब अदालतभित्रको कार्यसम्पादन पारदर्शी र विश्वसनीय हुन्छ, तब बाहिरका आरोप र आशंकाहरू पनि स्वतः कमजोर हुँदै जान्छन् ।
वकिलहरूले आफूलाई अफिसर अफ दि कोर्ट सम्झेर अदालतको निर्देशनको पालना गर्ने, समयको पाबन्दी बुझ्ने, कागजातमा इमानदार हुने र अदालतको गरिमा कायम राख्ने गरेमा न्यायिक प्रक्रियाको गति र गुणस्तर दुवै बढ्छ । कर्मचारीहरूले आफू न्यायालयको पहिलो पंक्तिको प्रतिनिधि भएको महसुस गरेर सेवाग्राहीप्रति सभ्य र सहयोगी व्यवहार गरेमा अदालतको छवि सुधारिन्छ । न्यायाधीशले सबैप्रति समान व्यवहार, स्पष्ट आदेश र समयमै फैसला दिने गरेमा न्यायालयप्रति जनविश्वास अझ गहिरो हुन्छ ।
त्यस कारण अदालतको उद्देश्य कसैलाई जिताउनु वा हराउनु मात्र होइन; न्यायको स्थापना गर्नु हो । त्यसैले न्यायिक प्रक्रियामा संलग्न सबै पक्षले एउटै लक्ष्य -छिटो, निष्पक्ष र प्रभावकारी न्यायलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । जब न्यायाधीश, वकिल र कर्मचारीले आफ्नो–आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्दै सहकार्यको संस्कृति विकास गर्छन्, तब मात्र न्यायालयप्रति जनविश्वास बलियो हुन्छ । वकिलहरू अफिसर अफ दि कोर्ट हुन् भन्ने मान्यता यस सहकार्यको आधारशिला हो । यो मान्यता जति बलियो हुन्छ, न्यायिक प्रणाली उति नै प्रभावकारी र भरोसायोग्य बन्न पुग्छ ।
(लेखक भट्टराई न्यायकर्मी हुन्, उनी ललितपुर जिल्ला अदालतमा कार्यरत छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया