ट्रम्पद्वारा इरानलाई एकै रातमा समाप्त गर्ने चेतावनी, तेल र होर्मुज जलडमरूमध्यमाथि नजर

लोकपथ
112
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै एकै रातमा ‘समाप्त पार्न सकिने’ चेतावनी दिएका छन् । उनले यस्तो कदम मंगलबार रातमै हुन सक्ने संकेतसमेत गरेका छन् ।

ट्रम्पले इरानसँग सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको समयसीमा मंगलबार राति सकिने बताएका छन् । सोही क्रममा उनले मध्यस्थकर्तामार्फत इरानी पक्षसँग भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानको कदमअनुसार युद्धको अवस्था निर्धारण हुने बताएका छन् । उनले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल तथा पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गरेका छन् । साथै, पूर्वी समयअनुसार राति ८ बजेसम्म अन्तिम समयसीमा रहेको उल्लेख गरे पनि उनले यसअघि यस्ता समयसीमा परिवर्तन गर्दै आएका छन् ।

ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने सम्भावित अमेरिकी आक्रमण युद्ध अपराधको रूप लिन सक्ने विषयमा आफू चिन्तित नरहेको पनि बताएका छन् । उनले होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा अमेरिकाले शुल्क लिनुपर्ने र तेल आपूर्ति स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई ले युद्धविरामले विपक्षी पक्षलाई पुनर्गठित हुन समय दिने मात्र बताउँदै विरोध जनाएका छन् । इरानी समाचार एजेन्सी आईआरएनए का अनुसार तेहरानले अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै स्थायी शान्तिका लागि आफ्ना सर्तसहित पाकिस्तानमार्फत जवाफ पठाएको छ ।

यद्यपि ट्रम्पले अमेरिका इरानसँगको युद्ध जितिसकेको दाबी गरे पनि धेरै अमेरिकी विशेषज्ञहरूले भने उक्त दाबीमा असहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?