काठमाडौं । प्रतिनिधिसभाका नव–निर्वाचित सभामुख डोलप्रसाद अर्याल ‘डीपी’ ले संसदीय व्यवस्थाको गरिमा उचो बनाउँदै निष्पक्ष र सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसद्लाई नीतिगत बहस, छलफल र निष्कर्ष निकाल्ने ‘खुला विश्वविद्यालय’ का रूपमा विकास गर्ने बताए । उनले सत्तापक्ष र प्रतिपक्षबिचको सन्तुलित भूमिकाले सुशासन र विकासमा योगदान पुग्ने उल्लेख गरे ।
संविधान, प्रतिनिधिसभा नियमावली र प्रचलित कानुनलाई आधार मानेर संसद् सञ्चालन गर्ने बताउँदै अर्यालले राजनीतिक दलहरूसँग सहकार्य र समन्वयमा अघि बढ्ने स्पष्ट पारे । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आवश्यक कानुन निर्माणमा सबै दलको रचनात्मक सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो ।
आफू अब दलभन्दा माथि उठेर राष्ट्रको सभामुखको भूमिकामा रहने उल्लेख गर्दै उनले सभाको मर्यादामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरूको सङ्ख्याका आधारमा कुनै भेदभाव नहुने र सबैलाई समान अवसर दिइने उनले स्पष्ट पारे ।
अर्यालले संसद्को प्रत्येक निर्णय जनताले नजिकबाट नियालिरहेको भन्दै जनप्रतिनिधिले जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै, नयाँ कानुन बनाउनुभन्दा अघि विद्यमान कानुनको समीक्षा, संशोधन र एकीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले समयबद्ध योजना बनाएर बाँकी कानुनी कामहरू पूरा गर्न सांसदहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संसद्लाई निष्क्रिय नभई कार्यसम्पादनको केन्द्र बनाउने लक्ष्य राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया