अब हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

लोकपथ
105
Shares

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ ।

हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताइन् । 

‘हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ । हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ । पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो,’ उनले भनिन् । 

महानिर्देशक पंगेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ । 

त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाइएको उनले बताइन् । 

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि समेत सार्वजनिक बिदाको दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।

अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सार्वजनिक बिदामा पनि हुलाक वस्तु जाँचपासका लागि कार्यालयलाई निर्देशन दिइसकेको बताए । सञ्चार मन्त्रालयको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सारमार्फत सेवा प्रवाहका लागि आग्रह गरेको थियो । सोहीअनुसार भन्सार विभागले निर्देशन दिइसकेको महानिर्देशक भण्डारीले बताए । 

पछिल्लो समय हुलाकमार्फत कुरियर गर्नेक्रम बढ्दो छ । नेपालबाट विदेश पठाइने र विदेशबाट नेपाल आउने वस्तुलाई चाँडो, सुरक्षित र भरपर्दो बनाउन विभागले निरन्तर सुधारका काम गरिरहेको महानिर्देशक पंगेनीको भनाइ छ । 

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिठ्ठी, रजिस्ट्री चिठ्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार ७०० हाराहारी छ । जसबाट २९ लाख चार हजार हाराहारी भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

हुलाकबाट हुने कुरियर सेवाका लागि द्रुतमार्ग सञ्चालन गर्ने तथा सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?