काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।
आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् ।
उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।
आज बसेको प्रतिनिधि सभा बैठकले सभामुखमा अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । त्यसलगत्तै राष्ट्रपति भवन शीतल निवासमा पुगेर अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहण लगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका सभामुख अर्यालले आफूले निष्पक्षतामा ध्यान दिने बताए । साथै यसअघिका सभामुखमाथि जुन विषयमा प्रश्न उठ्ने गरेको थियो त्यसमा आफू सचेत रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया