१२ वर्षदेखि अलपत्र घुमाउने पुल निर्माण अघि बढाउन सडक डिभिजनको निर्देशन

लोकपथ
70
Shares
फाइल तस्बिर

तनहुँ । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गर्दै काम सुरु गर्न आग्रह गरेको हो ।

संशोधित डिजाइन निर्माण व्यवसायीले पेस गरेपछि चैत १५ गतेको सडक विभागको निर्णयअनुसार तेस्रो पक्षका विज्ञबाट जाँच गरिएको ‘स्पेसिफिकेसन’सहितको डिजाइन स्वीकृत भइसकेको छ । अब डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीले लिँदै काम अघि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

विगत १२ वर्षदेखि पुल निर्माण अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। पटक–पटक मन्त्री, सांसद तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घेराउसमेत गरिएको थियो। निर्वाचनका बेला उम्मेदवारहरूले समेत पुल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए।

पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरका अनुसार सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि नबढ्दा जनताले समस्या झेल्नुपरेको छ । विसं २०७० असारमा सञ्जीवनी निर्माण कम्पनीसँग पहिलोपटक सम्झौता भएको उक्त पुलमा हालसम्म दुई किनारामा पिलर मात्रै ठडिएका छन् ।

बारम्बार म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा पुनः सम्झौता गरिएको थियो । २०७८ चैतमै सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म करिब ३६ प्रतिशत मात्रै पूरा भएको छ । अहिले पुल निर्माणको म्याद २०८३ असार मसान्तसम्मका लागि थप गरिएको छ ।

व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग हुँदै बन्दीपुर, आँबुखैरेनी जोड्दै मुग्लिन–नारायणगढ सडकसँग जोड्ने उद्देश्यले घुमाउनेघाटमा पुल निर्माण थालिएको हो । पुल निर्माण सम्पन्न भएमा पोखरा, दमौली र नारायणगढबिचको दूरी करिब २३ किलोमिटर छोटो हुने छ ।

हाल पुल नहुँदा सवारी साधन तनहुँको सिमानासम्म पुगेर फर्किन बाध्य छन् भने मोटरसाइकल भने धकेल्दै नदी पार गर्नुपर्ने अवस्था छ ।

एक सय पाँच मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने उक्त पुलको प्रारम्भिक लागत रु ९ करोड ५६ लाख निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?