गुटबन्दीले थलिएको कांग्रेसलाई एकताको खाँचो छ : कांग्रेस नेता महर

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी गम्भीर संकटमा परेको बताउँदै पुरानो कार्यशैली र सोच त्यागेर पुनर्निर्माणमा जानुपर्ने बताएका छन् ।

फागुन २१ पछि विकसित राजनीतिक घटनाक्रमलाई केवल सत्ता परिवर्तन नभई कांग्रेसका लागि आत्मसमीक्षाको क्षण भएको उल्लेख गर्दै उनले पार्टीले समयअनुसार आफूलाई परिवर्तन गर्न नसक्दा हार बेहोर्नुपरेको बताए ।

उनका अनुसार कांग्रेसले अझै पनि २०४८ सालकै सोच र रणनीतिका आधारमा २०८२ को चुनाव लड्ने गल्ती गरेको छ । ‘प्रश्नपत्र र उत्तर दुवै नमिल्दा परिणाम पनि त्यस्तै आयो, ‘उनले भने ।

महरले नेपाली समाज प्रविधि र चेतनाको हिसाबले धेरै अगाडि बढिसकेको भए पनि कांग्रेसको नेतृत्व पुरानै शैलीमा अल्झिएको टिप्पणी गरे । बदलिएको सामाजिक यथार्थ नबुझ्नु नै पार्टीको पराजयको मुख्य कारण भएको उनको भनाइ छ ।

पार्टीभित्रको गुटबन्दीलाई उनले ‘फेभिकोल एकता’को संज्ञा दिँदै यस्तो एकताले बाहिरबाट मात्र जोडिएको देखिए पनि भित्रैदेखि कमजोर हुने बताए । ‘सानो धक्का लाग्दा चकनाचुर हुने एकताले कांग्रेसलाई बचाउन सक्दैन,‘उनले भने ।

डडेलधुराको अनुभव उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र कमजोर हुँदा आफ्नै पार्टीभित्रबाट असहयोग झेल्नुपरेको बताए। चुनावका बेला घात–अन्तर्घात हुने प्रवृत्तिले पार्टीलाई झन् कमजोर बनाएको उनको आरोप छ ।

महरले गुटगत सहमतिको सट्टा ‘ढलोट’ जस्तो मजबुत एकताको अवधारणा अघि सारेका छन् । उनका अनुसार विभिन्न पुस्ता र विचारहरू पग्लिएर एउटै साझा दृष्टिकोणमा रूपान्तरण हुनुपर्छ ।

उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्न नसक्दा कांग्रेसले नयाँ मतदाताको विश्वास गुमाएको बताए ।

विदेशमा रहेका लाखौँ नेपालीको पीडा र अपेक्षालाई राजनीतिक एजेण्डा बनाउन नसक्दा पनि कांग्रेस कमजोर बनेको उनको विश्लेषण छ । ‘विदेशिएका युवाको आक्रोशलाई सम्बोधन नगरे कसले गर्छ?,‘ उनले प्रश्न गरे ।

नयाँ दलहरूको उदयलाई कांग्रेसकै असफलताको परिणाम भन्दै उनले ती दलहरू अझै परीक्षणकै चरणमा रहेको बताए ।

महरले विश्व राजनीतिक उदाहरण दिँदै सुधार नगरे कांग्रेस पनि अन्य पुराना दलजस्तै कमजोर बन्न सक्ने चेतावनी दिए । तर बेलायतको लेबर पार्टीजस्तै पुनरागमन सम्भव रहेको उनले बताए ।

आफू पदभन्दा बाहिर बसेर संगठन सुदृढीकरणमा लाग्न तयार रहेको बताउँदै उनले त्याग र निःस्वार्थ भावनाबाट मात्रै कांग्रेस पुनर्जीवित हुन सक्ने धारणा राखे ।

उनका अनुसार कांग्रेसलाई बचाउन ‘टालटुल’ उपायले पुग्दैन, वैचारिक र सांगठनिक रूपमै गहिरो परिवर्तन आवश्यक छ ।

‘कांग्रेसको एकता भागबण्डामा होइन, भावनामा आधारित हुनुपर्छ,‘उनले भने, ‘पहिले पार्टीभित्रको अहंकार र गुट पग्लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?