गुण्डागर्दीविरुद्ध ‘अपरेसन सेफ्टी काठमाडौं’ अभियान सञ्चालन, एकै रात १८ जना पक्राउ

लोकपथ
574
Shares

काठमाडौं । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन सञ्चालन गरेको छ । सो क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको छुट्टाछुट्टै टोलीले शुक्रबार राति उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको पक्राउका लागि प्रहरीले ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो । 

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा किमजोङ बोस, अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङसहित १३ जना छन् ।

‘रातभर अपरेसन सञ्चालन गर्‍यौँ, ठमेल, दरबारमार्ग, सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरू पक्राउ परेका छन्,’ उनले भने । 

यस्तै, काठमाडौं परिसरबाट पक्राउ पर्नेहरूमा श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका डिम्पल भनिने प्रवीण तामाङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सुजन कार्की र स्युचाटार क्षेत्रका सरु हुमागाईं छन् । सरुले पनि आफ्नै समूह बनाउन थालेको प्रहरीको निष्कर्ष छ । 

यस्तै, परिसरले बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिकी लामालाई पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?