बादलले संसदमा बोलेको विषयमा के भन्छ एमाले ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी संसदीय दलका नेता रामबहादुर थापा बादलले बिहीबार संसदमा बोलेको विषयमा समीक्षा गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले लामो छलफल गर्दै बादलले संसदमा गरेको सम्बोधनको विषयमा समीक्षा गरेको हो ।

बादलले हिजोको बैठकमा आफूहरु निर्वाचनमा पराजित हुनुको कारणमा नेपाली सेना, सामाजिक सञ्जाल, कर्मचारी, तत्कालीन सरकारदेखि अन्य पक्षमाथि दोष थोपरेका थिए ।

तर त्यसमा पार्टीका शीर्ष नेताहरुबाटै विरोध भएपछि आजको बैठकमा सो विषयमा छलफल भएको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले त्यस विषयमा केही अन्तरविरोधहरु भएको स्वीकार गरे ।

‘हिजो हाम्रो दलका नेताले बोल्ने क्रममा केही अन्तरविरोध जस्तो देखियो त्यो विषयमा आजको बैठकमा समीक्षा भयो,’ उनले भने ।

त्यस्तै आज बसेको बैठकमा वर्तमान सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णयको विरोध गरेको छ । साथै आफूहरुले सरकारलाई ध्यानाकर्षण गराउने र उक्त निर्णय फिर्ता गर्न समेत माग गरेको उपमहासचिव भट्टले बताए ।

‘वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने कामको कडा शब्दमा विरोध गरेको छ । र सरकारलाई यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ,’ उनले भने ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने सरकारको निर्णयमा विरोध जनाएको छ । साथै सरकारलाई त्यस विषयमा निर्णय फिर्ता लिन समेत आग्रह गरेको छ ।
मध्यपूर्वमा भइरहेको तनावका कारण त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्न पहल गर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?