गौतम श्री र गोरखा सेभिङ सहकारीको अर्बौँ ठगी, ५ जना पक्राउ

लोकपथ
434
Shares

काठमाडौं । प्रहरीले २ वटा सहकारीको अर्बौँ रकम ठगी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न सहकारीका व्यवस्थापक, अध्यक्ष, सीईओदेखि पूर्वकर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौतम श्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक ४१ वर्षीय रविन विष्टसहित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अन्य ४ जनालाई पक्राउ गरेको हो ।

गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, गोरखा सेभिङकै प्रमुख कार्यकारी अधिकृत (सीईओ) ४२ वर्षीय लालबहादुर क्षेत्री, गोरखा सेभिङकै सीईओ ३९ वर्षीय अविन कुमार राई र गोरखा सेभिङकै ५९ वर्षीय कर्णबहादुर राई रहेका छन् ।

प्रहरीका अनुसार गौतमश्री सहकारीका ४७९१ जना बचतकर्ताको ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार ००८ बचत रकम रहेको छ ।

त्यसमध्येबाट २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ मात्र ऋण प्रवाह देखिएको छ तर बाँकी रहेको २ अर्ब भन्दा बढी रकमको कागजात नभेटिएको प्रहरीले जनाएको छ ।

यता गोरखा सेभिङका १० हजार ५ सय ९८ जनाको बचत रकम जोखिममा परेको छ । उनीहरुले ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ बचत गरेकोमा १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ ऋण लगानीका लागि ऋण प्रवाह देखिएको छ तर बाँकी रहेको रकमको भने कागजात नभेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रवाह भएको ऋणसमेत कमसल धितो, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएका कारण असुली हुन नसकेको हुँदा बचत फिर्ता गर्न नसकिएको बताइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । उनीहरुको म्याद समेत थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गौतम श्री सहकारीका रविनलाई ५ दिनको म्याद थप गरिएको छ भने अन्यको हकमा ४ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?