संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री डा.तिमिल्सिना

लोकपथ
63
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल को ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र गतिका साथ अघि बढिसकेको स्पष्ट पारे ।

उनले सरकारका निकाय बलिया भए मात्र नागरिकले गुणस्तरीय सेवा पाउने उल्लेख गर्दै संस्थागत सुधारका लागि नयाँ ढङ्गले काम भइरहेको बताए । ‘बलियो, जवाफदेही र प्रभावकारी संस्था निर्माणको विकल्प छैन, ‘उनले भने ।

प्रतिनिधिसभा निर्वाचनपछि देश सञ्चालनको जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले राजनीतिक तथा प्रशासनिक संरचनामा देखिएका नकारात्मक प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे । देशले खोजेको दिशा पहिचान गरी सोहीअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

जवाफदेहिता र अनुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै उनले कमजोरी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने काम भइरहेको बताए । ‘हामी आफैं नराम्रो गर्दैनौँ र नराम्रो गर्नेलाई छोड्दैनौँ,‘उनले भने ।

सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै उनले अनावश्यक खर्च नियन्त्रण, प्रभावकारी सूचना सम्प्रेषण र सुशासनबीचको सम्बन्ध महत्वपूर्ण रहेको बताए । साथै, आगामी पाँच वर्षभित्र युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यमा सबै नागरिकको समान जिम्मेवारी रहने उल्लेख गरे ।

लोकतान्त्रिक व्यवस्थामा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले यसको संरक्षणमा थप जिम्मेवार हुनुपर्ने बताए ।

बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा र दर्शक–श्रोताको आवश्यकता अनुसार सार्वजनिक सेवा प्रसारणलाई अझ प्रभावकारी र विश्वसनीय बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले रेडियो नेपालले नागरिकलाई सुसूचित गराउने, भाषा–संस्कृति संरक्षण गर्ने र विविधता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

त्यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा। महेन्द्र विष्टले स्वतन्त्र, निष्पक्ष र जनकेन्द्रित प्रसारण प्रणालीको विकास आवश्यक रहेको उल्लेख गरे ।

विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपालले हाल देशको करिब ९४ प्रतिशत जनसङ्ख्यासम्म सेवा विस्तार गर्दै विभिन्न ऐतिहासिक तथा संकटकालीन अवस्थामा नागरिकलाई निरन्तर सूचना प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?