काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा बिहीबार बसेको उच्चस्तरीय बैठकले नेपाल वायुसेवा निगममार्फत ३ अप्रिलदेखि ५ अप्रिलसम्म विशेष उडान गर्ने निर्णय गरेको हो ।
पश्चिम एसियामा उत्पन्न तनावका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित भएपछि नेपालीहरू आवागमनमा समस्या झेल्दै आएका छन् । यही अवस्थालाई ध्यानमा राख्दै सरकारले उद्धार उडान सुरु गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले सार्वजनिक गरेको तालिकाअनुसार ३ अप्रिल राति ११ः१५ बजे काठमाडौंबाट दुबई उडान हुनेछ भने ४ अप्रिल बिहान ४ः१० बजे दुबईबाट काठमाडौं फर्किनेछ । त्यसैगरी ५ अप्रिल बिहान ८ः३० बजे काठमाडौंबाट दमाम उडान भर्ने र दिउँसो १२ः२० बजे दमामबाट काठमाडौं फर्किनेछ ।
यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली स्वदेश फर्काइएका थिए । साथै, विभिन्न कारणले मृत्यु भएका ९ नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया