काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको संसद बैठकमा राखेको धारणाले एमाले वृत्तमै असन्तुष्टी चुलिएको छ ।
बादलले सरकारमाथि कटाक्ष मात्र गरेनन् जनताले दिएको मतलाई समेत अबमूल्यन गरेको टिप्पणी भइरहेको छ ।
एमाले संसदीय दलको नेता समेत रहेका बादलको अभिव्यक्तिपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त विचार एमालेको नीति विपरित रहेको बताए ।
साथै बादलको अभिव्यक्तिबारे शुक्रबार बस्ने एमाले सचिवालय बैठकमा गम्भीर छलफल हुने समेत उनले बताएका छन् ।
‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा। रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।
यता उपमहासचिव योगेशकुमार भट्टराईले समेत सामाजिक सञ्जालमा लेख्दै बादलको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।
एमालेले जनताको बहुदलीय जनवादलाई मुख्य शिद्धान्त मान्ने भन्दै बादलको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् । बादलले विभिन्न पक्षका कारण रास्वपाले दुइ तिहाइ हाराहारी मत ल्याउन सकेको भन्दै कटाक्ष गरेका थिए ।
‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ,’ उनले भनेका छन् ।
त्यसो त एमालेले बुधबार मात्रै बादललाई संसदीय दलको नेता बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया