के भने संसद बैठकमा कांग्रेसका आङ्देम्बेले ? (पूर्णपाठसहित)

लोकपथ
105
Shares

सभामुख महोदय 

१) श्रद्धा र श्रद्धाञ्जली
प्रतिनिधिसभाको यो पहिलो बैठक मार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौं । हामीले आज शुरुआतकै दिन संकल्प गर्नुछ, हामी नागरिकमा नयाँ आशा/नयाँ विश्वास जगाउन सकौं । यो घडीमा म आह्वान गर्दछु – सबैले एक्यवद्ध भएर ०७ सालको क्रान्तिदेखि पछिल्लो जेन-जि बिद्रोहसम्ममा जीवन गुमाएका सबै सहिदलाई स्मरण गरौं l

०४६ को जनान्दोलन, दस बर्ष लामो सशस्त्र बिद्रोह, ०६२/०६३ को जनान्दोलन, मधेस आन्दोलन, थरु हट अनि आदिवासी जनजातिका अनेक प्रदर्सन र त्यस क्रममा भएका कयौंको सहादतलाई आज एक मुस्ट स्मरण गरौं । हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहेपनी एउटै नौकामा छौं । डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं,सँगै उठ्छौं । दल भिन्न होला, देश एउटै हो । त्यसैले आज ईमानको पसिना बगाउने संकल्प गरौं, अनि संकल्प गरौं- अब फेरि कसैले रगत बगाउनु नपरोस् ।


२) संसदीय प्रणाली सबैको साझा बाटो 
फागुन २१ को निर्वाचनमा उत्साहसाथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुबा, दिदिबहिनी, दाजुभाइले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ । विपि कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर  प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनैतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपटक फेरि अनुमोदित भएको छ ।

* कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्‍यो, आज राजतन्त्रका पक्षमा रहेका मित्रहरू पनि यहि संसदमा अट्नु भएको छ ।
* कुनैबेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने ऎलान गरेको माओवादी पार्टीका मित्रहरू पनि आज यहि संसदमा शान्त / भद्र / भलाद्मी भएर बस्नुभएको छ ।
*  कुनैबेला काँग्रेसले अपनाएको बाटोका विपक्षमा खरो उभिएर, अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर, सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुन्छ ।

रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु । नेपाली काँग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनी, पार्टीले बोकेको सिद्धान्त, बिचार र बाटो अझ सबल र अझ सफल बनेको छ । यो घडी काँग्रेस पार्टीका प्रत्येक सदस्यले बिशेष सन्तोष व्यक्त गर्न मिल्ने घडी हो, म यतिबेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्ट्रममा उभिएर स्मरण गर्न चाहन्छु ।

३) सबैलाई बधाई / सबैलाई शुभकामना
 नेपाली काँग्रेस `निरन्तरतामा नविनता´ भन्ने दृष्टिकोण राख्दछ ।
त्यसैले हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आयो, कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा काँग्रेसले नै पुर्‍यायो । त्यस हिसाबले काँग्रेस जेन-जि बिद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ । एक जिम्मेवार प्रतिपक्षी दलका रुपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न काँग्रेस प्रतिबद्ध छ ।
 
परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली काँग्रेसको बिशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु । विपि कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको काँग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज बिशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरुपको रुपान्तरणमा प्रवेश गरेको छ ।

तर छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्‍याउन सकिएन । तर आगामी दिनमा आफुभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र ब्यवहारलाई देशमा भएको परिवर्तन अनुरुप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलका रूपमा हामी प्रष्ट छौं ।

अत यो घडी पहिलो दलका रुपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व, नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि म नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट पनि शुभकामना दिन चाहन्छु ।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका प्रत्येक माननीय सदस्यलाई पनि म यो घडीमा बधाई ज्ञापन गर्दछु ।

४) आशालाई विश्वासमा बदलौं
यो संसदले एक ढिक्का रहेर गर्नुपर्ने एउटा प्रधान काम भनेको नागरिक पंक्तिमा आशा र विश्वासलाई निरन्तर जगाउने र निरन्तर जोगाउने हो । बितेको ३५ बर्षमा देशमा केही पनि भएन भन्ने, निराशाको भाष्य जनजनमा पुगेको छ । यसलाई हामीले चिर्न सक्नुपर्छ ।
बितेको ३५ बर्षको अवधिलाई यसो फर्केर हेरौं त-
* दस बर्ष लामो सशस्त्र द्वन्द्व यहि अवधिमा भयो l हजारौंको मृत्यु भयो र अर्बौंको ध्वंस भयो l
* राजाले निर्वाचित सरकार भंग गरेर यहि अवधिमा निरंकुश सत्ता चलाए ।
* यहि अवधिमा देशले दुई / दुई पटक भुकम्पको सामना गर्‍यो ।
हजारौंको मृत्यु भयो, अनि अर्बौंको क्षति भयो ।
* यहि अवधिमा विश्वव्यापी कोरोना महामारीबाट हाम्रो देश पनि ग्रस्त भयो, त्यसले हाम्रा हजारौं आफन्तको मृत्यु भयो अनि मुलुकको अर्थतन्त्र पनि जोखिममा पुग्यो ।

यस्तो अनेक प्रतिकुलता र अनेक संकटका बिच पनि देशमा प्रगतिका केही काम भएका छन् । म मेरै गाउँका, तपाईंको गाउँका आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइलाई
यहीँबाट आग्रह गर्न चाहन्छु–
यसो सोच्नुस् त…
* गाउँमा आएको बाटो ०४६ को परिवर्तनपछि आएको हो कि होईन ? 
* टुकि र दियालोमा बांच्न अभिषप्त जिन्दगी र घरहरुमा आज बलेको बिजुलि यहि अवधिमा जोडिएको होईन कि होइन ?
* हिजो भन्दा आज धेरै गाउँमा / धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यहि अवधीमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको हो कि होइन ?
*  गाउँमा दु:खसुख खुलेका स्वास्थ चौकी अनि बिमाको नीति के यहि अवधिमा शुरु भएको होईन र ?

अनि म शोध्न चाहन्छु-
*दुर्गम गाउँको पनि हातहातमा पुगेको संचार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही शुरुआत भएको नमूना हो ?
* बैंक, वित्तीय संस्थाहरु, एयरलाइन्सहरु, संचार माध्यमहरु लगायत निजिक्षेत्रको यत्रो बिस्तार के यहि अवधिमा देशले गरेको एउटा प्रगति होइन र ?

हो यो भन्दा बढी हुनसक्थ्यो, हुनुपर्दथ्यो । तर एकातिर अनेक प्रतिकुलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन । यसप्रती हामी आत्मालोचित छौं । तर जो भए, ती सबै हामी सबैका प्रयासले भए ।

अर्थात केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन । हामीले भएको कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी धेरै धेरै कामहरू पूरा गर्ने संकल्प गर्नुछ । यो संसदले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि जानुछ ।

५) भदौ २३ र २४ को प्रश्न 

आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो ।यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् ।

किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।

कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कार्वाहीको सिफारिस गर्‍यो । तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरीका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न ।

नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोर्खापत्रमा पढ्ने ? म आग्रह गर्न चाहन्छु- सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस् l काँग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं ।

६) सुशासन र समुन्नतिको यात्रा 

जेनजी बिद्रोह जस्तै बिद्रोह र बिस्फोट भविस्यमा हुन नदिन हामीले साँच्चै नयाँ र दुरदर्शि ढंगले सोच्न र काम गर्न जरुरी छ ।
किन बितेको ७५ बर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ बर्ष शासन गर्न सकेनन् ? म शोध्धिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ ? बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु । तपाईंलाई देशका लागि राम्रो गर्न हाम्रो प्रष्ट साथ रहनेछ ।

तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौं ।

हामी चाहन्छौं नयाँ संसद र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्रमा समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस् ।


अन्त्यमा …
आज See को परिक्षा दिइरहेका बिद्यार्थीहरुलाई शुभकामना दिँदै म सरकार , संसद र सबै राजनैतिक दललाई ध्यानाकर्षण गराउँदछु – ती बिद्यार्थीको सफलता तिनले उत्तरपुस्तिकामा के लेख्छन् भन्नेमा मात्रै होईन, हामी अब संसद र सरकारमा रहेर के गर्छौं भन्नेमा तिनको जिन्दगीको सफलता या असफलता छ । हामीले काम गर्दा तिनै किशोर किशोरीको भावना र भविस्यलाई केन्द्रमा राखेर काम गर्नुछ 

अन्त्यमा म नेपाली काँग्रेसका तर्फबाट सबैलाई फेरिपनी सम्मान गर्दै निर्वाचन सम्पन्न गराउन निरन्तर दृढ साथ दिने सम्माननिय रास्ट्रपति रामचन्द्र पौडेल, नेतृत्व गर्ने श्रद्देय शुसिला कार्कि र उहाँको नेतृत्वको सरकार, अनि अहोरात्र खटेर निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सबै सुरक्षा निकाय, निर्वाचन प्रहरी र सबै आदरणीय पत्रकार मित्रहरूमा श्रद्धा प्रकट गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?