जनताले शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन् : अर्जुननरसिंह केसी

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाको पहिलो बैठकमा जनताले सरकार मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमा आमूल परिवर्तन खोजेको बताएका छन् ।

विहीबार संसदमा सम्बोधन गर्दै केसीले जनताले आफ्नो ताजा जनादेशमार्फत गठित प्रतिनिधि सभालाई आशा, विश्वास र उत्सुकताका साथ हेरिरहेको बताए ।

उनले वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूची स्वागतयोग्य रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता आवश्यक रहेको बताए ।

केसीले नेपालको संविधानको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावना सबै राजनीतिक शक्तिले पालन गर्नुपर्नेमा जोड दिए । उनले विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेक प्रयोग गर्दै राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न आजको आवश्यकता रहेको बताए ।

संसदीय अभ्यासमा देखिएका कमजोरीले नीति निर्माण, कानुन तर्जुमा र सरकारलाई जनउत्तरदायी बनाउने प्रक्रियामा असर पुगेको भन्दै उनले अब विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताए ।

केसीले भने, ‘राजनीतिक अस्थिरता र पुराना प्रवृत्तिबाट दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र नयाँ कार्यशैलीको अपेक्षा गरेका छन्। यसै अनुरूप सरकारले काम गर्ने विश्वास छ ।’

सांसद केसीले संसदमा सभ्य भाषामा आफ्ना अभिव्यक्तिहरू राख्न पनि सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?