काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटन र हवाई सेवा क्षेत्रमा प्रत्यक्ष असर परेको बताएका छन् । उनले आज बिहीबार विज्ञप्ति जारी गर्दै हालै भएको हवाई इन्धन मूल्यवृद्धिलाई अप्रत्याशित र अहिलेसम्मकै उच्च भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
बस्नेतले भनेका छन्, ‘पर्यटकीय सिजनकै बीच विदेशी पर्यटकहरूले अग्रिम बुकिङ गरेका हवाई टिकटहरू धमाधम रद्द गर्न थालेका छन् । जसले हवाई सेवा कम्पनीहरू मात्र नभई समग्र पर्यटन उद्योगलाई समेत चुनौतीपूर्ण अवस्थामा पु¥याएको छ ।’
बस्नेतले हवाई सेवाको कुल सञ्चालन खर्चमध्ये करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गरेको उल्लेख गर्दै मूल्यवृद्धिपछि यो अनुपात झन्डै ५० प्रतिशत नजिक पुगेको पनि बताएका छन् ।
त्यसैगरी अमेरिकी डलरको मूल्यवृद्धिले जहाजका स्पेयर पाट्र्स, मर्मतसम्भार, प्राविधिक तालिम तथा अन्य सञ्चालन खर्चमा समेत उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले हालको असहज अवस्थामा इन्धन मूल्य सामान्य हुने प्रतीक्षा गर्नुबाहेक विकल्प नरहेको उल्लेख गर्दै परिस्थिति सुधार भए पर्यटन क्षेत्र पुनः उकासिने विश्वास व्यक्त गरेको छ ।
पर्यटन क्षेत्र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएकाले यसलाई मजबुत बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै बुद्ध एयरले नवनिर्वाचित सरकारसँग सहकार्य गरी हवाई सेवा तथा पर्यटन प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया