काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताएका छन् ।
उनले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गरे ।
उनले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । केसीले आजको बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिबद्ध रहेको विश्वास समेत व्यक्त गरे । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिविम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताए । लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भुमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘अब यो संसद भनेकै विभिन्न विचारधाराको संगमस्थल हो । ती विचारधाराहरूमा विवाद आउने, घर्षण हुने कहिले कहीँ तिक्तता कटुता निर्माण हुने स्वाभाविक प्रक्रिया हो । त्यसको बाबजुद पनि त्यो छलफलबाट जे निष्कर्ष निस्किन्छ, त्यो निष्कर्ष नै लोकतन्त्रको सौन्दर्य हो र संसद भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया गर्ने थलो हो । अहिले भर्खर सर्वदलीय बैठक हामीले जुन गर्यौँ । त्यसलाई कसरी भोलि सुचारु रूपले संचालन गर्ने भन्नेमा सबै दलका प्रतिनिधि साथीहरूको एकमतमा, खाली बोल्दा समयका कुराहरूमा चाहिँ अलिकति त्यतिले पुग्दैन भन्ने बाहेक, त्यसलाई प्रभावकारी रूपबाट निर्विघ्नतापूर्वक संचालन गर्ने कुरा सबै दलका साथीहरूले विश्वस्त तुल्याउनुभएको छ । त्यसकारणले भोलि म त्यस्तो कुनै विवाद हुने देख्दिन । मेरो दायित्व अहिले सभामुखको भएको हुनाले अहिले म दलगत राजनीतिका कुरा गर्दिन । किनभने संसद भनेको राष्ट्रिय राजनीतिक संस्कृतिको पहिचानको थलो हो । देशको राजनीतिक संस्कार कस्तो छ भन्दा त्यो देशको संसदले देखाइरहेको हुन्छ । त्यसको संरक्षक र प्रवक्ता भनेको सभामुख हो । त्यसकारण सभामुख र संसद लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ हुन्छन् । त्यसैले अगामी दिनमा पनि संसद र राष्ट्रिय राजनीतिको सुरक्षित अवतरण हुँदै जाओस् ।’
उनले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको पक्षमा सरकारले गर्ने काममा संसदका सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए । मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमिकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मुल मर्म भएको उनको बुझाइ छ । उनले संख्यात्मक शक्तिभन्दा पनि संविधानको रक्षा, जनताको सर्वोच्चता, स्वाभिमान, सम्मान र समृद्धिलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्ने समेत बताए । उनले वर्तमान सरकार जनताको उर्लंदो आकंक्षाको प्रतिनिधित्व गर्दै गठन भएको उल्लेख गर्दै अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।
केसीले स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्न जरुरी रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि विधि र प्रक्रिया पालना अपरिहार्य रहेको उल्लेख गर्दै आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिने चेतावनी दिए ।
उनले भने, ‘संख्यात्मक दृष्टिकोणले भन्दा पनि नेपाली जनताको स्वाभिमान, सम्मान, समृद्धि र विकासको निम्ति संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको दृष्टिकोणले सरकारले जहाँ जहाँ जति गर्छ त्यसमा पूर्ण रूपबाट सहयोग हुनुपर्छ । किनभने अहिलेको जो उर्लदो आकांक्षा छ त्यो आकांक्षाको प्रतिनिधित्व गरेर यो संसद, सरकार गठन भएको छ । तर जहाँनिर गल्ती छ त्यसलाई गल्ती भन्नुपर्ने र भन्नु नै लोकतन्त्र हो । त्यसैले अहिले नै हामी सरकारले जे गर्न लागिरहेको छ त्यसलाई टिका टिप्पणी गर्नुभन्दा पनि अस्थिरता नहोस् । स्थिर सरकार बनोस्, सुशासन होस् र नेपाली जनताको सबभन्दा ठूलो मन देख्ने विद्रोहको कारण भ्रष्टाचार । यो भ्रष्टाचारमुक्त समाजको निर्माण होस् । नीतिगत भ्रष्टाचारको नातामा यति धेरै लुटिएको छ जुन कुरा त मैले संसदमा समितिमा जहाँपनि बोलिरहेको कुरा हो । यी सम्पूर्ण कुरालाई नियन्त्रण गरिदेओस् । तर नियन्त्रण गर्ने भनेको मतलब आग्रह पूर्वाग्रह राखेर होइन । हरेक विधिको आफ्नो प्रक्रिया हुन्छ । विधि पालना गर्दा प्रक्रिया पूरा गर्नुपर्छ । त्यो प्रक्रियालाई एकातर्फ पन्छाए पनि विधिलाई मात्र समातेर विधिहीनता तर्फ उन्मुख भइन्छ । त्यसकारण सरकारले असल काम गरेका हरेक कामलाई सहयोग गर्नुपर्छ, सहयोग गर्छ, गर्नुपनि पर्छ । अब जहाँनिर गल्ती छ त्यो गल्तीमा संख्याले के फरक गर्छ, जनता पनि त छन् नि सुन्ने । त्यसमा त तात्विक रूपबाट अप्ठ्यारो मान्नुपर्ने कुनै स्थिति देख्दिन ।’
सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नेछन् । उनले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया