अमेरिकाद्वारा मानवसहितको आर्टेमिस २ चन्द्र मिसन प्रक्षेपण

लोकपथ
28
Shares

काठमाडौं । नासाको आर्टेमिस २ चन्द्र मिसन बुधबार अमेरिकी राज्य फ्लोरिडाबाट प्रक्षेपण गरिएको छ । ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मानवसहितको उडान हो, जसमा चार जना अन्तरिक्ष यात्रीहरू सहभागी छन् । 

ओरियन स्पेसक्राफ्ट (अन्तरिक्ष यान) जडित ‘स्पेस लन्च सिस्टम’ रकेट पूर्वी समयअनुसार बेलुकी ६ः३५ बजे नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । 

यो आर्टेमिस कार्यक्रम अन्तर्गत नासाको पहिलो मानवसहितको मिसन हो । चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचका साथै क्यानेडियन स्पेस एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेन रहेका छन् । 

प्रक्षेपणको उल्टो गणना (काउन्टर) टी–१० मिनेटको समयमा केही बेर रोकिए पनि केही मिनेटपछि पुनः सुरु गरिएको थियो । आर्टेमिस २ मिसनले गहिरो अन्तरिक्ष मिसनहरूका लागि आवश्यक पर्ने व्यापक क्षमताहरूको प्रदर्शन गर्नेछ । 

नासाकाअनुसार यसको उद्देश्य ओरियनको जीवन–रक्षक प्रणाली (लाइफ–सपोर्ट सिस्टम) को प्रमाणीकरण गर्नु र आर्टेमिस ३ तथा त्यसपछिका चन्द्र मिसनहरूको सफलताका लागि महत्त्वपूर्ण सञ्चालनहरूको अभ्यास गर्नु हो । चालक दलका सदस्यहरू पृथ्वी फर्कनुअघि चन्द्रमाको अर्को तर्फको भाग (फार साइड) बाट करिब ७ हजार ४ सय किलोमिटर परसम्म पुग्नेछन् । यो मिसनले अन्तरिक्ष यात्रीहरूलाई विगत आधा शताब्दीको तुलनामा पृथ्वीबाट सबैभन्दा टाढा र चन्द्रमाको सबैभन्दा नजिक लैजानेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?