काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिए ।
उनकाअनुसार प्रतिनिधि सभाको बिहीबारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुनेछ ।
बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उनले बताए । साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरु गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।
उनले भने, ‘हाउसको पहिलो बैठक कसरी सञ्चालन गर्ने र के–के कार्यसूची राख्नेबारेमा छलफल भयो । कतिपय कुराहरु हामी छलफलबाट टुंग्याएर निस्किएका छौँ । सभा सञ्चालनको लागि आवश्यक संसद नियमावलीलाई प्रतिस्थापन गर्ने सहमति भएको छ । तर नयाँ नियमावली नबन्दासम्म हाल रहेकै नियमावलीलाई टेकेर बैठक सञ्चालन गर्ने कुरा पनि भएको छ । यो सभाको पहिलो बैठकमै प्रस्ताव भएर अगाडि बढ्छ । सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव सभाको पहिलो बैठकमा प्रस्ताव हुने, २० गते मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा हामीले छलफल गर्यौँ । बौठकमा कार्यव्यवस्था परामर्श समिति गठन र अध्यक्षता गर्ने सदस्यहरुको चयन गर्ने कुरामा पनि छलफल भयो । त्यसैगरी प्रतिनिधि सभाको पहिलो बैठकबाट जेनजी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि राख्ने सहमति भयो । बैठकमा दलका शीर्ष नेताहरुले शुभकामना दिने कुराहरु पनि छ । त्यसमा समय निर्धारण गरेर अगाडि बढ्ने तयारी गरेका छौँ ।’
सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका शहीदहरुप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसदको नियमावली संशोधन गर्नेबारे सबै दलहरु सकारात्मक रहेको बताइन् । उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरुको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताइन् ।
उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया