बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा उपमहानगरपालिका–९ निवासी १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताए ।
सोही दुर्घटनामा परी प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएको छन् ।
उनीहरू दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल र ट्रक तथा ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया