ढिलो आउने र चाँडो निस्कने कर्मचारीलाई अब आधा दिनको मात्र तलब

लोकपथ
1.8k
Shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले अस्पतालमा ढिलो आउने र चाँडै जाने कर्मचारीमाथि ‘एक्सन’ लिने भएको छ । 

अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्देशनमार्फत् सो अस्पतालले कर्मचारीमाथि ‘एक्सन’ लिने रणनीति अख्तियार गरेको हो ।

अस्पतालले बिहान ९ः३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने जनाएको छ ।

यस्तै, बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

अस्पतालले बिहान ९ देखि बेलुका ५ बजेसम्म अस्पतालमै बस्न पनि भनेको छ । साथै कार्यालय समयमा अन्यत्र काम नगर्न चिकित्सक र कर्मचारीलाई निर्देशन पनि दिएको छ । 

अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार, चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य रूपमा अस्पतालमा उपस्थित हुनुपर्नेछ । 

यस्तै अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन ‘मुस्कानसहितको सेवा’ अनिवार्य गर्दै रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिएको छ । 

चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी  नम्बर र हस्ताक्षर प्रस्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । साथै चिकित्सकले अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य लगाउन निर्देशन दिएको छ । 

यस्तै, अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?