काठमाडौं । काठमाडौंका दुई यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात कार्यालयहरूमा बिचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीका अनुसार सानोभ-याङ र गुर्जुधारास्थित दुई वटा यातायात कार्यालयबाट नियन्त्रणमा लिइएको उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार, गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ पर्नेहरूमा धादिङका बुद्ध तामाङ र अमन तामाङ, काठमाडौंका पासाङ तामाङ र सुदीप मगर, काभ्रेका सुनिल लामा, मकवानपुरका सुमेश नेपाली, बझाङका उज्ज्वल सिंह र मोरङका दिलीप राई रहेका छन् ।
यसैगरी, सानोभ¥याङस्थित यातायात कार्यालयबाट पक्राउ पर्नेहरूमा काठमाडौंका सञ्जय राजवाहक र विमल तामाङ, रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, कैलालीका सुमनप्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसमेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया