महँगियो आन्तरिक हवाई भाडा, कम्तीमा २० प्रतिशतले वृद्धि

सरकारले एकै दिन बढायो हवाई इन्धनमा ९७ प्रतिशतको मूल्य वृद्धि

लोकपथ
154
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य आकासिएसँगै आन्तरिक उडानको भाडासमेत महँगिएको छ । अप्रिल १ अर्थात् बुधबारबाट लागू हुने गरी सबै आन्तरिक हवाई सेवा कम्पनीले भाडा वृद्धि गरेका हुन् ।

बुधबारबाट लागू हुने गरी अधिकांश आन्तरिक हवाई सेवा कम्पनीले आफ्नो हवाई भाडामा व्यापक वृद्धि गरेका हुन् । बढेको तल्लो भाडाको विश्लेषण गर्दा हरेक वायुसेवा कम्पनीले कम्तीमा २० प्रतिशतले भाडा महँगाएको पाइएको छ ।

मंगलबारसम्म काठमाडौं पोखरा रुटको सबैभन्दा सस्तो भाडा ४ हजार ३०० रुपैयाँ रहेकामा अहिले कम्तीमा पनि ५ हजार ३०० रुपैयाँ पुराएका छन् ।

मंगलबारसम्म कुल ५ हजार रुपैयाँमा काठमाडौं-पोखरा रुटको २ वटा टिकट उपलब्ध गराइरहेको श्री एयरलाइन्सले बुधबारबाट काठमाडौं पोखराको एउटा टिकटको भाडा नै ४ हजार ८०० रुपैयाँ पुराएको छ । यसअघि एउटा मात्रै टिकट किन्दा लाग्ने शुल्क ४ हजार १०० रुपैयाँ रहेको थियो ।

त्यसै गरी यति एयरलाइन्सले मंगलबारसम्म काठमाडौं–पोखराको एक टिकटको शुल्क ४ हजार ३०० रुपैयाँ तोकेकामा बुधबारबाट उक्त टिकटको शुल्क ५ हजार ३०० रुपैयाँ कायम गरेको छ । यतिले एक टिकटमै कम्तीमा १ हजार रुपैयाँले वृद्धि गरेको छ, जुन प्रतिशतका हिसाबमा २२ प्रतिशतभन्दा बढी हो ।

त्यसै गरी देशकै सबैभन्दा ठुलो आन्तरिक हवाई सेवा कम्पनी बुद्ध एयरले काठमाडौं–पोखरा रुटको उडानमा कम्तीमा ४० प्रतिशतले भाडा वृद्धि गरेको छ । यसअघि उक्त रुटको न्यूनतम भाडा ४ हजार ३०० रुपैयाँ रहेकामा बुद्ध एयरले बुधबारबाट लागू हुने गरी भाडा वृद्धि गरी ६ हजार २७० रुपैयाँ कायम गरेको छ । बुद्ध एयरले बढाएको उक्त भाडाको प्रतिशत ४५ प्रतिशतभन्दा बढी हो ।

सबैजसो वायुसेवा कम्पनीहरूले भाडा वृद्धि गरी सस्तो शुल्कको फेयर अर्थात् टिकट बिक्री बन्द गरेका छन् । अब रुट अनुसार कम्तीमा २० प्रतिशतदेखि ४५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

आन्तरिक वायुसेवामा हुने खर्चमध्ये ४० देखि ५० प्रतिशतसम्म इन्धनमा मात्रै खर्च हुने गरेको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको समेत शुल्क बढाएको छ ।

यसअघि प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिक हवाई इन्धनको मूल्य बुधबारबाट लागू हुने गरी प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । ९७ प्रतिशतभन्दा बढीले हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडामा व्यापक वृद्धि सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?