काठमडौं । नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाएका छन् ।
मंगलबार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रीय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ओली र लेखक पक्राउको विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउँदै उनले राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिए ।
गत शनिबार जेनजी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।
उनले भने, ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि र प्रक्रिया अवलम्वन नगरिएको भन्नेकुरामा राजनीतिक वृत्तमा मात्र नभई कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत टिप्पणी आएको छ । यी विषयमा हामी समसामयिक राजनीतिक समीक्षा र छलफल गर्छौँ ।’
उनले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न काँग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताए । पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिशोधको राजनीतिभन्दा पनि स्वस्थ प्रतिष्पर्धा, हार्दिकता र मेलमिलापको माध्यमबाट देशको रूपान्तरण र समृद्धिको बाटो पक्रिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया