निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : अध्यक्ष ढकाल

लोकपथ
49
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् ।

महासंघको ६०औँ साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको जानकारी दिए ।

आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ (निजी क्षेत्र सुरक्षा तथा प्रवद्र्धन योजना) लाई ठूलो सफलताका रूपमा लिए ।

उनकाअनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ढकालले अर्काको आलोचना गरेर भन्दा पनि आफ्नो एजेण्डा र क्षमता प्रस्तुत गरेर भोट माग्न सुझाव दिए ।

उनले नेतृत्वमा पुग्नका लागि इमान्दार प्रयास र पवित्र भावना हुनुपर्ने बताउँदै कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे ।
कुनै ठूलो व्यावसायिक पृष्ठभूमि नभए पनि आफ्नो कडा मेहनत र इमान्दारिताकै कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको उनको भनाइ थियो ।

उनले भने, ‘एउटा प्रदेशमा सर्वसम्मत नेतृत्वको घोषणा हुन मात्र बाँकी छ, यो सकारात्मक सन्देश सबै प्रदेश र केन्द्रमा पनि पुग्नुपर्छ । हामी निजी क्षेत्रका मान्छेहरू एक भएर सर्वसम्मत रूपमा अगाडि बढ्नुपर्छ भन्ने अहिलेको मुख्य म्यासेज हो । निजी क्षेत्र भनेको केवल नाफा कमाउने समूह मात्र होइन, यो ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने, ८०–८१ प्रतिशत जीडीपीमा योगदान पुर्‍याउने र मुख्य राजश्व संकलनकर्ता पनि हो । अब शिक्षण संस्थाहरू जस्तै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि सुरक्षित क्षेत्रका रूपमा हेरिनुपर्छ र सोही अनुसारको दृष्टिकोणमा परिवर्तन आउनुपर्छ ।’

अध्यक्ष ढकालले महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकतावद्ध भएर अगाडि बढ्न सबै पदाधिकारी र सदस्यहरूलाई आग्रह समेत गरे । उनले आगामी दिनमा पनि निजी क्षेत्रका समस्याहरूको पैरवी र व्यावसायिक गतिविधि विस्तारमा महासंघ सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?