काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भगवान् महावीरको जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिको कामना गरेका छन् ।
आज महावीरको २६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जैन धर्मावलम्बीले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।
उपराष्ट्रपति यादवले जारी गरेको सन्देशमा महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर भएको उल्लेख गर्दै उनले प्रतिपादन गरेका अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।
उनका अनुसार महावीरको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने तथा सत्यको पालनले इमानदारी र नैतिक जीवनतर्फ उन्मुख गराउने गर्दछ । साथै, लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा दिने विचारले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ ।
सन्देशमा अनेकान्तवादले विभिन्न दृष्टिकोणको सम्मान गर्दै सामाजिक सद्भाव बलियो बनाउने र ब्रह्मचर्यले आत्मसंयम तथा आध्यात्मिक उन्नतिमा मार्गदर्शन गर्ने उल्लेख छ । यी सिद्धान्तहरू आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ ।
महावीर जयन्तीलाई धार्मिक मात्र नभई सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै उनले पूजा–अर्चना, शोभायात्रा, भक्ति सङ्गीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउने बताएका छन् ।
उपराष्ट्रपतिले महावीरले दिएको ‘बाँच र बाँच्न देऊ’ भन्ने सन्देशलाई आत्मसात् गर्दै सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न आग्रह गरेका छन् । साथै, क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिने महावीरको शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।
सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणका लागि महावीरले देखाएको मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले जयन्तीले सबै नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यतर्फ प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया