काठमाडौं । सोमबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नवनिर्वाचित सांसदहरुसँग छलफल गरे ।
प्रधानमन्त्री बालेनले प्रदेश वाइज रुपमा सांसदहरुसँग छलफल गरेका हुन् ।
सबै राजनीतिक दलबाट प्रत्यक्ष निर्वाचित सांसदहरुसँग भेटघाट, शुभकामना आदानप्रदानसहित क्षेत्र र जिल्लागत समस्या, समाधानका उपाय, सम्भावना र सरकारलाई सुझाव समेत मागे ।
सोमबार कोशी प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित सांसदहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । यसअघि त्यस्तो किसिमको छलफलहरु नहुने गरेकोमा बालेनले नयाँ सुरुवात गरेको भन्दै प्रशंसा समेत भइरहेको छ ।
कोशी प्रदेश अन्तर्गतको इलाम क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद निश्कल राई प्रधानमन्त्री भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित ३५ वर्षीय राईले सम्भावना बोकेको जिल्ला इलामको समग्र विकासको निम्ति समस्या, समाधानका उपाय र सम्भावनाका क्षेत्रहरुका विषयमा जानकारी गराए ।
खासगरी चिया कफी, अलैँची लगायतका नगदे खेतीको सम्भावना, पर्यटन विकासको सम्भावना बोकेको इलामको विकासबारे सरकारको ध्यानाकर्षण गराएको बताए ।
‘चिया कफीका लागि प्रख्यात मानिने इलाम अलैँची, दुग्धजन्य पदार्थ, सुपारी, जडिबुटीका सम्भावनाबारे जानकारी गराएँ । साथै अझै चिया भारतमा निकाशी हुने बेला सिन्डिकेट हुने गरेको यसको बजार व्यवस्थापन राम्रोसँग हुन नसकेको विषयमा पनि ध्यानाकर्षण गराएको छु,’ राईले भने ।
चिया कफीको खेतीसहित पर्यटन विकासका लागि समेत इलाम महत्वपूर्ण जिल्ला मानिन्छ । त्यसका लागि सीमा सडक विस्तारका लागि समेत उनले ध्यानाकर्षण गराएका छन् । इलामको पशुपतिनगर दार्जिलिङ प्रवेशको मुख्य प्रवेशद्वार मानिन्छ । तर त्यहाँ भारतीय पक्षको अध्यागमन (इमीग्रेसन) नभएका कारण समस्या परिरहेको विषयमा दुई देशको सरकारबिच समन्वय गर्नुपर्ने विषयमा उनको ध्यानाकर्षण रहेको छ ।

‘पर्यटन विकासका लागि सीमा सडक काँकडभिट्टादेखि चिवा भञ्ज्याङसम्मको सडकलाई प्रथम प्राथमिकतामा राखेर बहुवर्षीय योजनामा राखेर काम गर्न पनि अनुरोध गरेँ,’ उनले भने, ‘पशुपतिनगरमा नेपालतर्फको बाटोमा इमिग्रेसन छ, भारतीय पक्षबाट इमिग्रेसन राखिराखेको छैन, त्यसलाई द्वीपक्षीय सरकार कुरा गरेर इमिग्रेसन सेन्टर राखिदिनका लागि मैले अनुरोध गरेँ ।’
सम्भावना मात्र होइन प्राकृतिक विपत्तिका हिसावले जोखिमयुक्त जिल्लामा समेत इलाम पर्छ । वर्षेनी वर्खायाममा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसविषयमा समेत सांसद राईले प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराएका छन् ।
‘सरकारले हामीलाई दैवी प्रकोपको उच्च जोखिमको क्षेत्रका रुपमा छुट्टयाएको छ । अघिल्लो वर्ष हाम्रो झण्डै १३२ वटा घरहरु पूर्ण विस्तापित भएको र २७६ वटा परिवारहरु विस्तापित भएका ४०१ वटा घरहरु आंशिक रुपमा ड्यामेज भएका र ३६ वटा भन्दा बढी मानवीय जीवनको पनि क्षति भएको सँगैमा हाम्रो ११ दशमवल ८१ बिलियन भन्दा बढी क्षति भएको, ७६ वटा विद्युत आयोजना भएकोमा १५वटामा क्षति पुगेको छ । यो पटकको बर्खामा पनि थुप्रै जोखिमपूर्ण ठाउँहरु छन्, त्यसलाई छ्टिटै म्यापिङ गरेर विपद जोखिम न्यूनिकरण गर्ने कुरामा सरकारको ध्यान जावस् भन्ने कुरा मैले राखेँ,’ उनले भने ।
लामो समय विद्यार्थी राजनीतिबाट आएका र केही वर्ष अध्यापन समेत गराएका सांसद राईले इलामलाई अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रमा समेत सम्भावना रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

इलामसँग सीमा जोडिएको दार्जिलिङ शिक्षाको हबको रुपमा विकास हुँदा नेपालको सँगै सीमा जोडिएको इलामलाई समेत शैक्षिक हब बनाउन सकिने उनको सुझाव रहेको छ ।
‘दार्जिलिङमा हाम्रै खालको वातावरण भएको हिसावले एजुकेसन हबका रुपमा विकास गरिएको छ, र इलाम पनि त्यस्तै खालको ठाउँ भएको कारण इलामलाई पनि सोही अनुसार विकास गर्न सकिन्छ तर त्यसका लागि राज्यले तादरुकता देखाउनुपर्छ,’ उनले भने ।
त्यसो त उनले सरकारलाई आफ्नो क्षेत्रको समस्या, समाधानका उपाय, सम्भावनाको बारेमा मात्रै नभइ सरकारलाई विभिन्न सुझावहरु समेत दिए ।
सरकारले हालै ल्याएको १०० वटा कार्यसूची राम्रो हुँदाहुँदै त्यसलाई कार्यान्वयन गर्नका लागि कानुनी जटिलताहरु रहेको र त्यसलाई फुकाएर काम गर्न आग्रह गरेको बताए ।
सांसद राईले यस वर्षको बजेटमा यसअघिको जस्तो पहुँचका आधारमा नभइ प्राथमिकताका आधारमा बजेट छुट्याउन आग्रह गरे ।
अन्तिममा प्रधानमन्त्री बालेनले यस वर्षको बजेट प्राथमिकतका आधारमा निर्माण गर्ने बचन दिएको उनले बताए ।
आजको भेटमा कोशी प्रदेशबाट निर्वाचन अन्य दलका सांसदहरुको उपस्थिति रहँदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठक नै बहिस्कार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया