सेयर किर्ते गरी कब्जा गरेको आरोपमा सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । किर्ते कागजात तयार पारी कर्मचारीका लागि छुट्टाएको सेयर कब्जा गरेको आरोपमा सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई सोमबार पक्राउ गरेको हो ।

सीआईबीले सिइओ अर्याललाई सोमबार पुतलीसडकबाट पक्राउ गरेको हो । अर्यालमाथि कम्पनीले कर्मचारीका लागि छुट्टाएको सेयर बाँडफाँटमा किर्ते गरी आफूले बढी सेयर राखेको आरोप छ ।

भएको के थियो ?
नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययन अनुसार सिइओ अर्यालले कर्मचारीका लागि बाँडफाँड गर्नुपर्ने सेयरमा १ लाख ४ हजार ६५० कित्ता सेयर किर्ते गरी आफैँले राखेका थिए । किर्ते गर्ने क्रममा सिइओ अर्यालले सेयर माग आवेदन फारममा झुटो विवरण भरी सक्कल र प्रतिलिपि फारममा विवरण फरक पारेर भरेको पाइएको थियो ।

त्यस्तै, कम्पनी सञ्चालक समितिबाट सेयर बाँडफाँटको औपचारिक निर्णय नै नभएको र कर्मचारीको सेयर वितरण मनोमानी ढंगले गरेको पाइएको समेत बोर्डको अध्ययनले देखाएको थियो । सिइओ अर्याललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० र १०३ को उपदफा (३) विपरीतको कसुरमा अनुसन्धानका लागि बोर्डले अनुरोध गरेपछि सीआईबीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले धितोपत्र बोर्डले पठाएको अध्ययन प्रतिवेदन र अनुरोधपछि थप अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको बताएका छन् । श्रेष्ठका अनुसार सीआइबीको प्रारम्भिक अनुसन्धानमा पनि अर्यालले कर्मचारीका लागि बाँडफाँड गर्नुपर्ने सेयर लगतमा गलत विवरण पेस गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

सन नेपाल लाइफले आइपिओ निष्कासनका क्रममा कुल सेयरको ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्टाएको थियो । तर सिइओ अर्यालले सेयर बाँडफाँटमा अनियमितता गरेपछि असन्तुष्ट भएका कर्मचारीले धितोपत्र बोर्डमा उजुरी दिएका थिए ।

उजुरी प्राप्त भएपछि बोर्डले छानबिन गर्दा कैफियत पाइएपछि थप अनुसन्धानका लागि प्रतिवेदनसमेत संलग्न राखी सीआईबीमा पठाएको थियो । तर प्रतिवेदन प्राप्त भएको डेढ वर्षसम्म सीआईबीले अनुसन्धान अगाडि नबढाएकामा नयाँ सरकार आए लगत्तै अनुसन्धान अगाडि बढाई अर्याललाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?