बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

लोकपथ
42
Shares

काठमाडौं । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।

बाँके जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा. हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए ।

उनले भने, ‘खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।’ सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

डा. यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ गरिएको बताए । पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको छ ।

उनले भने, ‘हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ । तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लूको जोखिम देखिएको छ ।’ नियमित रूपमा कार्यालयबाट हुने जनचेतानमूलक कार्यक्रम भइरहेको डा. यादवको भनाइ छ ।

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सर्तकता अपनाएको बताए । जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमूनाह नाकालगायत विभिन्न क्षेत्र खुला सीमा नाका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?