वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कृनिङ सुरु

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम सुरु भएको छ ।

सोमबार एक कार्यक्रमकाबिच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रमको सुभारम्भ गरेकी हुन् ।

कार्यवाहक प्रमुख डंगोलले विशेष गरी महिलाहरूमा सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च देखिएकाले यस प्रकारको स्क्रिनिङ कार्यक्रमलाई प्राथमिकता दिइएको बताइन् ।

क्यान्सरलाई समयमै पहिचान गर्नसके उपचार सम्भव हुने बताउँदै उनले पहिचानमा ढिलाइ हुँदा रोग तेस्रो वा चौथो चरणमा पुग्ने जोखिम रहने बताइन् ।

धेरै महिलाहरुमा सचेतनाको अभाव र केहीले भने डर र लाजको कारणले परीक्षण नगराउने प्रवृत्ति रहेको उनको भनाई छ ।

महिलाहरूले परिवारको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो स्वास्थ्यलाई पछाडि पार्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न आग्रह गरिन् ।

उनले भनिन्, ‘विशेष गरी धेरै महिला दिदिबहीनीहरुमा सर्भाइकल र स्तन क्यान्सर धेरै देखिने गरेको छ । हरेक दिन संसारभर ४ जना सर्भाइकल क्यान्सरको कारणले मुत्यु हुने गरेको छ । क्यान्सर मृत्यु भईहाल्ने रोग होइन, यसको उपचार गर्न सकिन्छ भन्ने बुझाउन पनि जरुरी छ । यदी समयमा नै यसको पत्ता लगाउन सकियो भने उपचार हुन्छ, त्यसको लागी समयमा नै परीक्षण गर्नुपर्छ । कतिपय समयमा असिम्टोम्याटिक सिम्टोम नै देखिरहेको हुँदैन र जुनबेला सिम्टोम देख्छ, त्यो बेला थर्ड, फोर्थ चरणमा पुगिसकेको पनि हामीले देखेका छौँ, त्यसैले ज्यान गइरहेको छ । कति सचेत नभएको कारणले नै परीक्षण गराउनुहुन्न । कति जनालाई डर पनि लाग्छ, कति लाजले पनि परीक्षण गरिराख्नुभएको छैन । यहीबाट म सबैलाई अनुरोध गर्छु अब यो लाज, डर र अचेत सबै कुरालाई तोड्ने समय हो । महिला दिदिबहिनीले परिवारका अरु सदस्यलाई प्राथमिकता दिनुहुन्छ, आफूलाई अन्तिममा राख्नुहुन्छ । तपाई स्वस्थ हुनुभयो भने सिंगो परिवार स्वस्थ हुन्छ । आफ्नो स्वास्थ्य परीक्षण गर्न आजै अगाडी बढ्नुहोला ।’

उनले गतवर्ष वीर अस्पतालसँग गरिएको सहकार्य सफल भएको उल्लेख गर्दै यस वर्ष कार्यक्रम अझ व्यवस्थित र व्यापक बनाइने बताइन् ।

उनकाअनुसार यो कार्यक्रम आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?