कांग्रेसमा समानान्तर गतिविधि, खड्काले बोलाए केन्द्रीय समिति बैठक

लोकपथ
119
Shares

काठमाडौं । आधिकारिकता विवादमा रुमल्लिएको कांग्रेसमा दुई पक्षबिच समानान्तर गतिविधि बढ्न थालेका छन् ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँग सभापति गगनकुमार थापाले पार्टी कार्यालयबाट पार्टी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । तर यता पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समेत छुट्टै भेला बोलाउने, बैठक बोलाउने गर्न थालेको हो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै देउवा समूह आधिकारिकता माग गर्दै आयोगको निर्णयविरुद्ध सर्वोच्च गएको छ ।

तर यसैबिचमा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक बोलाएका छन् । खड्काले चैत १७ र १८ गतेका लागि बैठक आह्वान गरेका हुन् । त्यसो त चैत १९ गतेका लागि जिल्ला सभापतिहरुको भेला समेत बोलाइएको छ ।

केही दिनअघि बसेको देउवा पक्षको भेलाले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको थियो ।

त्यसो त शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै दुवै पक्षले फरकफरक आशयको विज्ञप्ति जारी गरेको थियो ।

सभापति गगन थापाले विधिका शासन मान्ने, नेताहरु अनुसन्धानका लागि पक्राउ पर्दैमा त्यसको विरोध आफूहरुले नगर्ने बताएका थिए । तर यता देउवा पक्षका तर्फबाट आफूलाई कार्यवाहक दाबी गर्दै पूर्णबहादुर खड्काले कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?