काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।
शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो ।
जेनजी आन्दोलनमा व्यापक धरपकड गरेको भन्दै फौजदारी अभियोगमा मुद्दा चलाउन कार्की आयोगको प्रतिवेदनले सिफारिस गरेको छ ।
ओली र लेखक पक्राउको विरोधमा नेकपा एमाले सडकमा निस्किएको छ । यता ओली र लेखकका परिवारले सर्वोच्चमा थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।
ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका छन् भने लेखकलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।
त्यस्तै अदालतले ओली स्वास्थ्योपचारका लागि अस्पतालमा भर्ना भएको भन्दै ओलीको प्रभावकारी आवश्यक उपचार गर्न समेत आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया