पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गरिँदै

लोकपथ
56
Shares

काठमाडौं । आज आइतबार बिहान पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गर्दैछ ।

पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुढानीलकण्ठस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । 

सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) डा. मनोज केसीले उनलाई विभागको कार्यालयमा पेस गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको बताए ।

उता, सरकारले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । यसैगरी, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा तिनका परिवारमाथि पनि अनुसन्धान अघि बढाएको छ । पूर्वमन्त्री आरजु राणाका भाइ भूषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतको भनाइ छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले आज आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पक्राउ गरिसकेको छ । उनलाई बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको हो । 

उता, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन पनि रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भवन भत्काउन रोक लगाइएको हो । प्रशासनको निर्णयसँगै प्रहरीले भवन भत्काउन रोक लगाएर त्यहाँबाट कार्यरत कामदार पनि हटाइसकेको छ । 

जेनजी प्रदर्शनमा आगजनी भएको घर केही दिनदेखि भत्काउन सुरु गरिएको थियो । प्रदर्शनकारीले आगजनी गर्दा सो घरबाट जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरेर राखेको थियो । 

सो घर बस्नयोग्य नभएपछि पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा पछिल्ला दिनमा महाराजगन्जमा भाडाको घरमा बस्दै आएका छन् । देउवा दम्पती अहिले  हङकङमा छन् । उनीहरू नेपाल फर्कने, नफर्कने निश्चित छैन । 

देउवा र उनकी पत्नी आरजुमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?