कार्की आयोगको प्रतिवेदन काठमाडौं प्रहरीलाई बुझाइयो,  प्रहरी प्रवक्ता भन्छन् : ‘अब कार्यान्वयनको काम तत्कालै सुरु गर्छाैं’

लोकपथ
266
Shares

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गरेर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । 

सो आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयबाट काठमाडौं प्रहरी परिसरलाई हस्तान्तरण गरिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

‘हामीलाई गृह मन्त्रालयबाट जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भएको छ । त्यसैअनुसार कारबाही अघि बढाएका छौँ,’ एसएसपी थापाले भने । 

काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं आइपुगेको भन्दै अब कार्यान्वयनको काम तत्कालै सुरु गर्ने बताए । पक्राउ गरिनुपर्ने थप मानिसको पहिचान र पक्राउको प्रक्रिया पनि सुरु हुने उनले बताए ।

जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?